Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

कार्यालय संचालन : दर्ता र चलानी, परिचर किताब, सूचना, परिपत्र र पत्र व्यवहार सम्बन्धि आधारभुत ज्ञान सीप – “खरिदार विशेष”

  • Ajnabee Khadka
  • October 03, 2023
  • 285

कार्यालय संचालन : दर्ता र चलानी, परिचर किताब, सूचना, परिपत्र र पत्र व्यवहार सम्बन्धि आधारभुत ज्ञान सीप – “खरिदार विशेष”

कार्यालय संचालन : दर्ता र चलानी, परिचर किताब, सूचना, परिपत्र र पत्र व्यवहार सम्बन्धि आधारभुत ज्ञान सीप – “खरिदार विशेष”

(क) दर्ता : कार्यालयमा प्राप्त भएका चिट्ठी पत्रहरुको अभिलेख राख्ने कार्यलाई दर्ता भनिन्छ । पत्र दर्ता गर्दा पठाउनेको नाम र ठेगाना, मिति, बिषय आदि कुराहरू उल्लेख गरिन्छ । कार्यालयको प्रकृति अनुसार दर्ता विवरण हरु फरकफरक हुन सक्छन् । दर्ता किताबमा  दर्ता नम्बर, दर्ता मिति, प्राप्त भएको पत्रको संख्या र पत्र मिति, पठाउने कार्यालयको नाम, पत्रको व्यहोरा वा बिषय र पत्र बुझ्ने फाँटवालाको नाम, सहि र मिति तथा कैफियत महल उल्लेख गरिएको हुन्छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आन्तरिक व्यवस्थापन कार्यविधि, २०५८ को अनुसूची ३ मा व्यवस्था गरिएको दर्ता किताबको नमूना

दर्ता किताबको महलहरु
१. क्र.सं.
२. दर्ता मिति
३. प्राप्त पत्रको
३.१ पत्र संख्या
३.२ मिति
४. पठाउनेको नाम
५. बिषय
६. दाखिला समय
७. बुझिलिनेको दस्तखत
७.१ नाम
७.२ सही
७.३ मिति
८. कैफियत

(ख) चलानी : कार्यालयवाट चिट्ठी पत्रहरु अन्यत्र पठाउने समयमा पत्रहरुको अभिलेख राख्ने कार्यलाई चलानी भनिन्छ । पत्र चलानी गर्दा पत्र पठाउनेको नाम, ठेगाना, मिति, बिषय आदि कुराहरू उल्लेख गरिन्छ । कार्यालयको प्रकृति अनुसार चलानीका विवरणहरु फरकफरक हुन्छन् । चलानी गरिएका पत्रहरु चलानी किताबमा अभिलेख गरिन्छ । यसमा चलानी नम्बर, मिति, चलानी हुने पत्रको पत्रसंख्या र पत्रको मिति, पत्रको व्यहोरा वा बिषय, पत्र प्राप्त गर्ने कार्यालयको नाम, ठेगाना र कैफियतको महल उल्लेख गरिएको हुन्छ । परिचर किताब (पियन बुक) बाट चिट्ठी पत्र बुझाउन सकिन्छ । जस्तैः  चलानी किताबको नमूना तल दिईएको छ ।

सामान्य प्रशासन मन्त्रालयको आन्तरिक व्यवस्थापन कार्यविधि, २०५८ को अनुसूची -४ मा रहेको चलानी किताबको नमूना

चलानी किताबको महलहरु
१. क्र.सं.
२. चलानी मिति
३. च.नं.
४. पत्रको
४.२ पत्र संख्या
४.२ मिति
५. पठाउनेको नाम
६. बिषय
७. परिचर किताब नं.
८. चलानी समय
९. बुझिलिनेको दस्तखत
९.१ नाम
९.२ सही
९.३ मिति
१०. कैफियत

उपरोक्त बमोजिम चिठी पत्र दर्ता, चलानी तथा गोप्य कागजात बुझ्ने अभिलेख किताबमा जनाउँदा सावधानी साथ गर्नुपर्छ । माथिका महलहरुमा उल्लिखित बिषयहरुलाई ध्यान दिई दुरुस्त अभिलेख गर्नुपर्दछ । नयाँ आर्थिक बर्ष संगै दर्ता, चलानी किताब परिवर्तन गरि यद्यावधिक (Update) गर्नुपर्दछ ।

२. सूचना (Information/Notice)

कुनै पनि कार्यालयले कार्यालय भित्र र बाहिर सञ्चार गर्ने जानकारीलाई सूचना भनिन्छ । सूचना प्रायः सीमित कार्यालय वा कर्मचारी वा व्यक्तिलाई भन्दा सबैले थाहा पाउन भन्ने उद्देश्यवाट गरिएको हुन्छ । यसमा नयाँ वा परिवर्तन भएको नीति नियम, कार्यविधि बारेमा वा टेण्डर लिलाम जस्ता कुराहरु रहन्छन् । सूचना प्रकाशित गर्दा यथाशक्य सबैले देख्ने वा पढ्न सक्ने स्थानमा वा आमसञ्चार माध्यमवाट गरिनुपर्दछ । यसलाई सरल, संक्षिप्त र स्पष्टरुपमा प्रकाशन गरिनु पर्दछ । सुचनामा सम्बन्धित बिषय, यसले पार्ने प्रभाव तथा यसवाट हुने परिवर्तन बारेमा स्पष्ट उल्लेख गरिएको हुनुपर्दछ । सूचनाहरुलाई विकसित प्रविधिलाई अँगाली बेबसाईट (website) मा राखी जानकारी दिन पनि सकिन्छ । सुचनाको खास उद्देश्य सम्बन्धित व्यक्ति वा पक्षलाई समयमा बिषय सम्बन्धि कुराको जानकारी दिनु हो । सूचना कुनै पनि बिषयमा दिन सकिन्छ । हिजोआज सरकारी सूचना Website मा राख्ने mail or message वाट जानकारी वा Link पठाउने प्रचलन बढिरहेको छ । सूचनाका केहि नमूना यश प्रकार छन् :

(क) परिपत्र (Circular)

कार्यालयहरुले आन्तरिक वा अन्य कार्यालयहरु सँग गर्ने सञ्चारको प्रमुख र प्रचलित माध्यम मध्ये एक परिपत्र हो । सामान्यतया भैरहेको व्यवस्थामा परिवर्तन भएमा, नयाँ नीति, कार्यविधि तर्जुमा भएमा वा नयाँ निर्णय सो को जानकारी परिपत्रद्वारा सम्बन्धित कार्यालयहरुलाई जानकारी गराईन्छ । परिपत्र गर्दा यसलाई संक्षिप्त तथा स्पष्ट हुने गरि मितव्ययीरुपमा गराउनु पर्दछ । परिपत्रको सिलसिलेवार नम्बर राखी नयाँ कर्मचारीका लागि पनि उपयोगी हुने गरि छुट्टै फाईल खडा गर्नुपर्छ । यसलाई पुस्तकको रूपमा प्रकाशन गर्न पनि सकिन्छ । मातहतका सबै कार्यालयलाई एकै बिषयको जानकारी लिखित रुपमा दिनुलाई परिपत्र भनिन्छ । कुनै बिषयमा कुनै काम गर्न, नगर्न वा कुनै कुरा प्रष्ट गर्न वा बुझाउनका लागि परिपत्र गरिन्छ । परिपत्र गर्दा एउटा व्यहोराको नक्कल सारी अन्तिम हरफमा फलानो कार्यालयवाट फलानो मितिमा लेखी एकवाट अर्को गरि तहतह गरि पठाउन सकिन्छ । जस्तै: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरुलाई पठाएको परिपत्रलाई सोझै पठाएको परिपत्र भनिन्छ तर मन्त्रालयले बिभाग, बिभागले शाखा उपशाखा तथा अन्तर्गत कार्यालय गरि पठाएको परिपत्रलाई तहतह भै गएको परिपत्र भनिन्छ । व्यवसायमा पनि परिपत्रको महत्व निकै छ । कुनै पनि संस्था वा व्यवसायमा नयाँ साझेदार  प्रवेश भएमा पुरानो साझेदार हटेमा, बिधानमा हेरफेर भएमा, प्रतिनिधि बर्खास्त भएमा, नयाँ प्रतिनिधि भर्णा भएमा र अन्य आवश्यक कुराको जानकारी गराउन परेमा परिपत्रद्वारा सबैलाई जानकारी गराईन्छ । यसको अभावमा कुनै कुरा थाहा नपाई अलमल्ल पर्नुपर्दछ । परिपत्रले समयमा जानकारी दिलाउँछ । परिपत्र ज्ञानबर्ध्दक, सुचनामुलक हुन्छ । यसको माध्यमवाट धेरै कुरा समयमा जानकारी भै काम गर्न सजिलो हुन्छ । यसको उपयोगिता सर्वव्यापी छ ।
परिपत्रको प्रकार :

(क) सिधै पठाएको परिपत्र
(ख) तहतह हुँदै पठाएको परिपत्र

(ख) तोक आदेश :

कुनै बिषयमा वा निवेदन माथि अधिकार प्राप्त अधिकारीले  के कस्तो काम कारबाही गर्ने हो, सो बारेमा त्यसै पत्रमा लिखित रुपमा दिने निर्देशनलाई तोक आदेश भनिन्छ । तो लागे पछि कार्यान्वयन गर्ने अधिकृत वा सहायकस्तरका कर्मचारीले सो कागजातको व्यहोरा माथी कारबाही गर्ने अधिकार प्राप्त गर्दछन् ।

३. पत्र व्यवहार (Correspondence)

३.१ परिचय :

पत्रव्यवहार कार्यालय सञ्चार व्यवस्थापनको एउटा अभिन्न अङ्ग हो । लिखित रूपमा एक पक्षले अर्को पक्षसँग सम्पर्क राख्नका लागि गरिने क्रियाकलाप अर्थात् कागजमा आवश्यक कुरा लेखि अर्को पक्ष वा व्यक्तिलाई सम्बोधन गरि एक स्थानवाट अर्को स्थानमा पठाउने कार्यविधिलाई पत्रव्यवहार भनिन्छ । संसारमा लिखित सञ्चारको सबैभन्दा बहुप्रचलित माध्यम पत्रव्यवहार नै हो । व्यवसाय संचालन गर्दा पत्राचार गर्नुपर्छ । यश  माध्यमवाट स्थानीय, दुर्गम आदि सबै ठाउँहरुमा खवर वा कुराको आदानप्रदान गर्न सकिन्छ । यो सञ्चारको सरल तथा प्रचलित माध्यम हो । कार्यालय, बिभाग, संघ संस्था तथा प्रचलित माध्यम हो । कार्यालय, बिभाग, संघ, संस्था, तथा आयोग आदिको   बीचमा एक अर्कोसँग सम्पर्क स्थापना गर्ने, व्यवहार गरिने लिखित सञ्चारको प्रमाणिक प्रक्रिया नै पत्रव्यवहार हो ।

आजकाल पत्रव्यवहार वा पत्राचार बिद्युतिय माध्यमवाट पनि हुने गर्दछ । पत्रको साटो फ्लपी डिस्क वा सिडि वा इ-मेलवाट पनि पठाईन्छ । यो पत्रव्यवहारको आधुनिक यान्त्रिक पध्दति हो । आधुनिक प्रविधिको रूपमा यसरी आदानप्रदान गरिएको लिखितलाई पनि पत्रव्यवहार सरहको प्रमाणिकता दिनुपर्छ । आजभोलि इ-मेल वा ईन्टरनेट वाट पनि व्यवसाय सञ्चालन हुन्छ । नेपालमा पनि यसले मान्यता पाएको छ । सञ्चारको औपचारिक साधनहरु मध्ये चिठिपत्र एक हो । कुनै पनि कार्यालयहरुमा चिठिपत्रहरुको प्रयोग कम भन्दा कम गर्नु राम्रो हुन्छ । चिठिपत्रको व्यवहार देहाएको स्थितिमा मात्र गर्नु पर्छ :

® व्यक्ति व्यक्ति बिच,
® कार्यालय र व्यक्ति विच
® एक कार्यालय र अर्को कार्यालय विच ।

चिठीपत्र पठाउँदा कुनै निश्चित अधिकृतसँग वार्ता भइ वा ध्यानाकर्षण गराउन आवश्यक भएका सम्बन्धित अधिकृतको नाम, पद उल्लेख गरि पठाईदिएमा छिटोछरितो हुन सक्ने हुन्छ । एकै कार्यालय भित्रका शाखा प्रशाखाले परस्परमा लेखापढी गर्दा भने आन्तरिक सञ्चार पत्रद्वारा गर्नु पर्छ । व्यक्तिगत, पारिवारिक, सामाजिक, सरकारी, व्यवसाय आदि सबै संघ/संस्था तथा कार्यालयहरुमा पत्रव्यवहारको ठूलो महत्व हुन्छ ।

सबै कार्यालयहरुको सञ्चारको मुख्य माध्यम तथा प्रमाणिक प्रलेख पत्रव्यवहार हो । यसवाट नै पारिवारिक, सरकारी, व्यवसायिक तथा संघ/संस्था बिच खवर आदानप्रदान हुन्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापार तथा कुटनैतिक सम्बन्धको खवर आदानप्रदान समेत पत्रव्यवहारवाट हुन सक्छ । व्यवस्थापन गर्ने, प्रशासन सञ्चालन गर्ने जस अन्तर्गत समन्वय, निर्देशन तथा निर्णय गर्ने, लिखित प्रमाणिक, अभिलेख राख्न तथा कानुनी मान्यता समर्थनका लागि पत्रहरुको महत्व रहेको छ । पत्रव्यवहारको कुशल प्रयोगवाट व्यापारिक सफलता प्राप्त हुन्छ । कार्यालयको कार्यसफलतापुर्वक सम्पन्न गर्न यसले मद्दत गर्दछ । पारस्परिक निर्णयलाई लिखितरूपमा अघि बढाउन पत्रव्यवहार जरुरत पर्दछ । आधुनिक युगमा नीजि, सरकारी कार्यालय, व्यवसाय, शिक्षण संस्था संघ/संस्थाहरुमा पत्रव्यवहारको महत्व छ । आजको बिज्ञान प्रविधि र प्रतिस्पर्धात्मक व्यवसायिक युगमा तथा मानव जीवनको प्रत्येक क्षेत्रमा पत्रव्यवहारको महत्व छ ।

कुशल पत्रव्यवहारको माध्यमवाट सरकारी वा व्यावसायिक कार्यालयको सफलता सुनिश्चित हुन्छ । साथै पत्रको माध्यमवाट पारस्परिक निर्णयहरुको लिखित प्रमाण राख्न र दुवै पक्ष बिचको सम्बन्धलाई स्थायी बनाउन सहयोग पुर्याउँछ ।

व्यावसायिक पत्रको आवश्यकता, महत्व खासगरी सम्पर्क तथा सम्बन्ध स्थापना गर्न, सुझाव तथा सूचना प्राप्त गर्न, कम खर्चिलो बनाउन, कम खर्चिलो बनाउन, सुदृढ आन्तरिक एवम् बाह्य सञ्चार पद्धतिको बिकास गर्न तथा व्यवस्थित गर्न पत्र व्यवहार एक सशक्त माध्यमका रुपमा रहेको छ ।

३.२ उद्देश्य :

पत्रव्यवहारका उद्देश्यहरु लाई सामान्यत निम्नलिखित बुँदाहरुमा उल्लेख गर्न सकिन्छ :
(क) मौखिक भनेर नहुने आवश्यक कुरालाई अभिलेखका रूपमा तयार गरि पत्रव्यवहार गर्नु,
(ख) कतिपय कुराहरू लिखत कानुनी प्रमाण पुर्याउनु पर्ने अवस्थामा लिखित पत्रव्यवहार गर्नु,
(ग) कार्यालयमा हुने कारोबार, भुक्तानी, सामान खरिद/ आपूर्ति, कानुनी कारबाही र आवश्यक सरसहयोग समेत पत्रव्यवहारमा लेखिएका आधारमा गर्नु,
(घ) लिखितरुपमा प्रमाण तयार गरेर राख्नु (जुन भविष्यमा वा वर्तमान मै कुनै पनि बेला आवश्यक पर्न सक्छ ।)
(ङ) खोजेको वा आवश्यक परेको बेला सरल, मितव्ययी, सुरक्षीत भरपर्दो, छिटोछरितो र गुणस्तरीयरुपमा लिखित दस्तावेज निवेदन/प्रतिवेदन/कागजात प्राप्त गर्नु ।

३.३ चिठी/पत्रका गुणहरु

चिठी वा पत्र व्यक्तिगत/कार्यालयीय वा व्यावसायिक कार्य सञ्चालनका लागि महत्वपूर्ण हुन्छ । कार्यालयका कर्मचारीको दक्षता, क्रियाशिलता, सक्रियता, इमान्दारीता, लगनशीलता वा कर्तव्यनिष्ठता चिठी पत्र वा पत्रव्यवहार बाटै बुझ्न सकिन्छ । एउटा आदर्श चिठी वा पत्रमा निम्नलिखित गुणहरु आवश्यक छ ।

(क) सरलता : चिठीपत्र थोरै समयमा पढन सकिने र पत्रको बिषयवस्तु सरल हुनुपर्दछ जुन कुरा व्यक्त गर्न खोजिएको हो सो सरल र सामान्य भाषामा लेखिएको हुनुपर्दछ । चिठी पत्र पढने बित्तिकै व्यहोरा सजिलैसँग बुझ्न सकिने भै चिठी पठाउने र पाउने दुवैलाई चिठीको तात्पर्य छर्लङ्ग भएको हुनुपर्दछ ।

(ख) स्पष्टता : चिठीमा भन्न खोजिएको कुरा स्पष्टसँग लेखिनुपर्दछ । अस्पष्ट, अधुरो र दोहोरो अर्थ लाग्ने गरि पत्र लेख्नु हुँदैन । स्पष्ट सन्देश प्रवाह हुनु चिठी पत्रको एउटा महत्वपूर्ण गुण हो ।

(ग) संक्षिप्तता : चिठी लेख्दा मुख्य बिषय नछुटाई अधुरो नपारी सकभर संक्षेपमा छोटो र सफासँग लेख्नुपर्दछ जसद्वारा समय र श्रमको समेत बचत होस् । संक्षिप्त पत्र तयार गर्नु भनेको आवश्यक कुराहरू नलेख्ने होईन । अनावश्यक रुपमा एउटै कुरा दोहर्याई नलेख्ने र अप्रासंगिक कुराहरु लेखेर पत्रलाई लम्बाउनु हुँदैन ।

(घ) विनम्रता : विनम्र भाषामा लेखिएको चिठीले चिठी पठाउने र पाउनेको बिच सुमधुर सम्बन्ध ल्याउँछ । त्यसैले चिठीमा सधैं शिष्ट र नम्र शब्दहरू प्रयोग गर्नुपर्दछ । संस्थालाई कानुनी व्यक्ति सरह मानि आफ्ना आवश्यक कुराहरू स्पष्टरुपमा नरम भाषामा राख्नुपर्दछ । चिठी पत्रमा सहयोग गरिदिनु हुन अनुरोध छ भनि अन्त्यमा लेख्ने प्रचलन व्यवहारमा पाईन्छ ।

(ङ) पुर्णता : पत्रमा लेख्नुपर्ने कुराहरू सबै लेख्नुपर्छ । कुनै पनि कुरा छुटाउनु हुँदैन । आवश्यक जानकारी, सूचना, जिज्ञासा् वा धारणा के हो

(च) मौलिकता : कुनै पत्र नयाँ बिषयमा र कुनै आएको पत्रको जवाफ वा प्रतिउत्तरका लागि लेख्नुपर्दछ । आफ्नै भाषा र आवश्यकताका आधारमा पत्र लेख्नु पर्ने हुनाले यो मौलिक हुनुपर्छ । कुनै बिषयको जानकारी वा सोधिएको बिषयमा लेखिने हुनाले यो मौलिक मात्र होईन नवीनतम पनि हुनुपर्छ । कुनै बिषयको जानकारी वा सोधिएको बिषयमा लेखिने हुनाले यो मौलिक मात्र होईन नवीनतम पनि हुनुपर्छ । पत्रलाई आफ्नो शैलीमा आकर्षक ढंगले प्रस्तुत गर्नु पर्छ । यसले पत्र पढने व्यक्तिलाई आकर्षित गर्दछ र पत्रको प्रभावकारीता पनि बढछ । नक्कल गरिएको शैलीले राम्रो प्रभाव पार्दैन तसर्थ मौलिकतालाई चिठी पत्रको नभई नहुने आवश्यक गुण मानिन्छ ।

(छ) प्रभावकारीता : पत्यारलाग्दो र आवश्यक जानकारी दिने पत्र प्रभावकारी हुन्छ । जुन उद्देश्यले पत्र लेखिएको छ सो प्राप्त हुनु नै प्रभावकारीता मानिन्छ । पत्र प्राप्त गरेर पढने व्यक्तिले त्यसमा लेखिए अनुसारको काम गर्दैन भने सो पत्र प्रभावहीन हुन्छ । कुनै पनि पत्रको तत्काल व्यापारिक वा सरकारी काम कारबाहीमा सकारात्मक प्रभाव प्राप्त गरोस् भन्ने ठान्नुपर्छ । प्रभावकारी पत्रले मात्र आफ्नो उद्देश्यमा सफलता प्राप्त गर्न सक्छ ।

(ज) शुद्धता : पत्रमा लेखिने कुराहरू शुद्धरुपमा लेख्नु पर्छ । खासगरी कारोबारका अर्थ तथा निर्णय मितिहरु शुद्ध भएनन् भने निर्णय प्रक्रियामा समेत नराम्रो प्रभाव पर्ने हुन्छ । त्यसैले पत्रमा लेखिने भाषा तथा लेखिएका कुराहरू शुद्ध होस् भन्ने कुरामा बढी ध्यान दिनुपर्छ । तथ्य, तथ्यांक वा सूचना लेखा कारोबारमा शुद्धतामा बढी नै ध्यान दिनु पर्छ ।

(झ) आकर्षण : पत्रका अक्षर बुझिने गरि कम्प्युटर वा टाईपद्वारा अथवा राम्रा अक्षरले लेखिएको हुनुपर्छ । पङ्तिवध्दरुपमा लेखिएको पत्र झट्ट हेर्दा पढन मन लाग्ने हुन्छ ।  त्यसैले पत्र लेख्दा वा टाईप गर्दा कहाँ के लेख्ने भन्ने नियमानुसार आवश्यक कुराहरु मात्र लेखी पठाएको पत्र आकर्षक हुन्छ । भाषा शैलीले गर्दा पनि पत्रको आकर्षण लाई वृद्धि गर्छ । पत्र पट्याएर राख्ने, खाममा मिलाएर राखी बाहिरवाट पत्रमा नटाँसिने गरि खाम बन्द गर्ने र संक्षिप्त पत्र आकर्षक पत्रको रूपमा मानिन्छ । अचेल कम्प्युटरमा चिठी पत्रलाई आकर्षक गराउने विभिन्न नमूनाहरु राखिएका हुन्छन् ।

(ञ) औपचारिकता : कार्यालयमा आउने जाने कागजपत्रमा त्यसको खास मनसायमा उचित ध्यान दिनुपर्छ । कागजपत्रको उचित आदर भएमा काम छिटो हुनुका साथै कार्यालयहरूको आपसी सम्बन्ध पनि राम्रो हुन जान्छ ।
कार्यालय संचालन : दर्ता र चलानी, परिचर किताब, सूचना, परिपत्र, तोक आदेश र पत्र व्यवहार सम्बन्धि आधारभुत ज्ञान सीप

अघिल्लोवाट क्रमशः

३.४ चिठीका भाग वा स्वरुपहरु

एक पत्रमा एक बिषय हुनुपर्दछ । प्रत्युत्तर लेखिएको चिठी भए चिठीको शुरुकै वाक्यांशमा यो अघिल्लो चिठीको संकेत नम्बर, मिति उल्लेख गर्नुपर्छ । पत्र पाउने शाखा, प्रशाखा, कार्यालय वा कर्मचारीको नाम, ठेगाना स्पष्ट र संक्षेपमा लेखिएको हुनुपर्छ । चिठी माथि कारबाही हुनमा ढिलाइ रोक्न चिठी लेखिने कार्यालयसँग अनौपचारिक तवरले सम्पर्क राख्नुपर्छ । चिठी स्पष्ट र संक्षेपमा लेखिनुपर्छ । चिठीको अन्तमा चिठी पठाउनेको दस्तखत गर्ने ठाउँ मुनि पठाउनेको नाम र पद समेत अनिवार्य रुपमा उल्लेख गर्नुपर्छ । दस्तखत मात्र गर्दा सम्बन्धितको नाम, पद थाहा नभई सम्पर्क राख्न कठिनाइ हुन्छ । चिठीका प्रतिलिपीहरु र सो चिठी बारे सम्बन्ध राख्ने सबै कर्मचारी वा कार्यालयमा चाहिएमा एकै कार्यालय अन्तर्गत पनि पठाउनु पर्छ । प्रतिलिपीहरु पठाउँदा पठाईने कर्मचारी वा कार्यालयको नाम उल्लेख गर्नुपर्छ । चिठीको एकप्रति पठाउनेले आफ्नो सम्बन्धित फाईलमा समावेश गर्नुपर्छ । दिनभरी चलानी भएका सबै  पत्रको मिति छुट्याई एकमुष्ट फाईलमा राख्ने गरेमा मितिको आधारमा पत्र पत्ता लगाउन सजिलो हुन्छ । कार्यालयको कामको प्रकृति एवम् पत्रको संख्याका आधारमा पत्र पत्ता लगाउन सजिलो हुन्छ ।

व्यवसायमा धेरै जसो चिठीहरु वाट दुई संस्था वा व्यक्ति वीच सम्पर्क स्थापना हुन्छ । पत्रको लेखाइ ढाँचा र पत्रको  विभिन्न भागले व्यवसायमा महत्वपूर्ण असर पर्छ । चिठीका सम्पुर्ण भागहरु ठिक ठिक र राम्रोसँग संगठित भए मात्र चिठी वा पत्र आकर्षक बन्छ । चिठी वा पत्र सञ्चारको एक अति उपयोगी साधन मानिन्छ । साधारणत: चिठीको बनोटमा निम्नलिखित भागहरु हुनुपर्दछ :

१. शिर्षक : शिर्षक भन्नाले चिठी पठाउनेको नाम, ठेगाना, टेलीफोन नम्बर, पत्रसंख्या, मिति आदि पर्दछन् । आजकाल चिट्ठी पठाउने प्राय: सरकारी, व्यावसायिक, सामाजिक, कार्यालयीय वा संघ संस्थाले अ-आफ्नो चिठिमा शिर्षकहरु र ढाँचा (Formating) छापिराखेको पाईन्छ । यी शिर्षकहरुमा पठाउनेको नाम ठुला अक्षरले पत्रको माथिल्लो भागको वीचमा पारी छापिएको हुन्छ । ठेगाना, टेलीफोन नम्बर, फ्याक्स, ईमेल, पत्रसंख्या, मिति आदि साना अक्षरले छापिएको हुन्छ । व्यक्तिको नाम जरुरी भएको अवस्थामा पठाउनेको नाम पनि राखेको पाईन्छ । सामान्यतया शिर्षकमा कार्यालयको नाम छापिएको हुन्छ ।

२. भित्री ठेगाना : चिठी पाउनेको नाम र ठेगानालाई भित्री ठेगाना भनिन्छ । चिठी पाउनेको नाम र ठेगाना खाममा मात्र होईन, चिठी भित्र पनि लेख्नुपर्छ जसले गर्दा कसलाई लेखेको हो, भन्ने कुरा थाहा हुन्छ । पाउनेको नाम सम्बोधन गरि सकेपछि ठेगाना लेखिन्छ । कुनै पत्र एउटाको खाम र अर्कोको पर्न सक्ने सम्भावनालाई दृष्टिगत गरि कतिपय बैंकिङ कार्यालयहरुले भित्री ठेगानालाई नै मुख्य ठेगानाको रुपमा लेखी खाममा प्लास्टिकको झ्याल वा विन्डो प्रयोग गरेको पाईन्छ तर सामान्यतया भित्री ठेगानामा नाम, पिनकोड नम्बर, फोन नम्बर, फ्याक्स नम्बर आदि लेखिन्छ ।

३. बिषय: चिठीको तात्पर्यलाई बिषय भनिन्छ । यो भित्री ठेगाना लेख्नु अघि चिठिको बिच भागमा लेखिन्छ । बिषय हेर्ना साथ चिठीको प्रमुख कुरा थाहा पाउन सकिन्छ । यसले बिषयको क्रममा फाईलिङ्ग गर्न पनि मद्दत गर्दछ ।

४. अभिवादन : भित्री ठेगाना लेखीसकेपछि व्यहोरा शुरु गर्नुभन्दा अगावै चिठी पाउनेलाई महाशय, महोदय, महोदया आदिवाट सम्बोधन गर्नुपर्दछ । यो सम्बोधन भित्री ठेगाना मुनि लेखिन्छ । नेपाली र अंग्रेजीमा पत्र लेख्दा सम्बोधनका प्रक्रियाहरु फरकफरक हुन्छन् । वास्तवमा व्यापारिक पत्रहरु र अन्य पत्रहरुका बनावटमा यो अन्तर देखिन्छ ।

५. व्यहोरा : यो चिठीको मुख्य बिषयवस्तु हो । यसमा चिठी पाउनेलाई थाहा दिनुपर्ने वा आफुले भन्नुपर्ने सबै कुरा लेखिन्छ । यो सरल भाषामा सफा र प्रष्टसँग थोरै शब्दमा आवश्यकतानुसार अनुच्छेद छुट्याई लेख्नुपर्दछ । चिठी पढनासाथ तात्पर्य बुझ्न सक्ने हुनुपर्दछ ।

६. अन्तिम अभिवादन : यो व्यहोरा लेखिसकेपछी चिठीको अन्तमा लेखिन्छ । यसमा नम्र शब्द प्रयोग गरेको हुनुपर्दछ । जस्तैः तपाईको आज्ञाकारी, तपाईको शुभचिन्तक, अनुरोधक, निवेदक, भवदीय आदि अरु कुरा पछि भेटमा, यहाँको उत्तरोत्तर प्रगतिको कामना गर्दछु जस्ता शब्दहरू पत्रको समाप्तिमा लेख्ने चलन छ ।

७. दस्तखत, नाम र दर्जा : दस्तखत वा सहि नभएको चिठी कानुनी दृष्टिले अमान्य ठहरिन्छ । चिठीमा चिठी पठाउनेको नाम र अधिकार प्राप्त व्यक्तिको हस्ताक्षर हुनुपर्दछ । दस्तखत प्रायः पढन नसकिने वा नबुझिने हुँदा दस्तखत मुनि दस्तखत गर्नेको नाम र दर्जा समेत बुझिने गरि लेखेको वा टाईप गरेको हुनुपर्दछ । यसवाट कुन हैसियतको व्यक्तिले कुन क्षमताले पत्र लेखेको स्पष्ट हुन्छ ।

८. संलग्न कागजात : पत्रसँगै अति आवश्यक र जरुरी कागजपत्रहरु पनि हुन सक्छन् । कागजात नहराउन भनेर संलग्न कागजातहरुको विवरण पत्रमा लेख्नुपर्छ । यसरी विवरण लेख्दा आवश्यकतानुसार लेख्नुपर्छ । रजिष्ट्री पत्र, हातेपत्र नियमानुसार दर्ता गराईएका पत्रहरुमा राखिएका अन्यपत्रहरु संलग्न कागजातहरु हराउन पनि सक्छन् । त्यसैले संलग्न पत्रहरुको विवरण सहित संलग्न कागजातको नाम लेखेमा कसैले लुकाउन वा हराउन सक्दैनन् ।

९. पुनश्च: कहिलेकाही सबै कुरा टाईप तथा दस्तखत गरिसकेपछि कुनै कुरा लेख्न छुटेको थाहा पाईन्छ । सबै पत्रका कुराहरू परिवर्तन नगरी केही मात्र थप हुने परिस्थितिमा पुनश्च लेखेर थप कुरा लेख्ने चलन छ । कुनै नयाँ कुराहरू लेख्ने वा थप्नुपर्ने भएमा पनि थपेर पत्र पठाउन सकिन्छ । यो पत्रको अनिवार्य भाग होईन । सबै पत्रमा पुनश्च र संलग्न कागजात हुन्छन् भन्ने केही छैन । आवश्यकतानुसार लेख्नुपर्छ । पत्रको स्वरुप कस्तो बनाउने भन्ने बारेमा एकै प्रकारको धारणा छैन । आजभोलि अनुच्छेदीकरण गर्ने तरिका बेग्लै आएको छ । सबै भागलाई देव्रेतिर मात्र लेख्ने चलन पनि छ । कुनै भाग दाहिनेतिर कुनै भाग देब्रे तिर लेख्ने पुरानो चलन पनि यथावत छ । कम्प्युटर द्वारा विभिन्न प्रकारका चिठीहरु तयार गर्न सकिन्छ । कतिपय चिठीका नमूनाहरु कम्प्युटरमा सुरक्षीत हुने भएकोले बिषयको प्रकृति अनुसार परिमार्जन गरि तयार गर्न सकिन्छ । पत्र लेखी सकेपछि खाममा बन्द गरि पठाउनु पर्छ । खाममा स्पष्ट देखिने गरि पत्र प्राप्त गर्नेको नाम र ठेगाना लेख्नुपर्दछ । पत्र पठाउनेको नाम र ठेगाना आवश्यकतानुसार छोटकरीमा वा पूरा लेखिन्छ । मानिसले पुर्याउन जाने हस्ते पत्र बाहेक हुलाकवाट पठाउने पत्रहरुमा नियम अनुसारका हुलाक टीकट टाँसी वा टाँचा लगाई पठाईन्छ । बिद्युत्तिय माध्यमवाट पठाउँदा इ-मेल ठेगाना स्पष्ट सँग तोकिएको ठाउँमा टाईप गरि वा उतावाट आएको सन्देशमा जवाफ फिर्ता पठाउनु पर्छ । जसरी रजिष्ट्री पत्र हुलाकवाट पुगे नपुगेको जानकारी बेलैमा पाईन्छ । त्यसैगरी इ-मेल प्राप्त नभएको जानकारी तुरुन्तै प्राप्त हुन्छ । यदि सन्देश ठिक ठाउँमा पुगेन इमेल ठेगाना परिवर्तन भएको रहेछ भने सन्देश स्वीकृति हुँदैन । यसको कमजोरी भनेको अर्को पक्षले समयमा सन्देश प्राप्त गरे नगरेको भने थाहा हुन सक्दैन ।

३.५ चिठीका प्रकारहरु
चिठीका प्रकारहरुलाई बिशेषत: निम्न २ किसिममा बिभक्त गर्न सकिन्छ :
१. प्रयोगका आधारमा
२. प्राथमिकताका आधारमा ।
३.५.१ प्रयोगका आधारमा चिठीका प्रकार :  चिठीहरु कार्यालय, संघसंस्था एवं व्यक्तिहरुका विभिन्न प्रयोग अनुरुप विभिन्न प्रकारका हुन् सक्छन् । प्रयोगका आधारमा चिठीपत्र लाई यश प्रकारले बिभाजन गरेको छ :

(क) सरकारी पत्र
(ख) व्यवसायिक वा व्यापारिक पत्र
(ग) आवेदन पत्र
(घ) व्यक्तिगत वा निजीपत्र ।

(क) सरकारी पत्र (Government Letter)

कुनै पनि सरकारी कार्यालयले अन्य कार्यालय, बिभाग, शाखा वा अन्य व्यक्ति वा संस्था संग विभिन्न काम कारबाहीका लागि पठाउने चिट्ठीलाई सरकारी चिट्ठी भनिन्छ ।

नमूना :

लोगो                            नेपाल सरकार
पत्र संख्या :-                      अर्थ मन्त्रालय
चलानी नं.:-               महालेखा नियन्त्रक कार्यालय
कोष तथा लेखा नियन्त्रक कार्यालय
बर्दिया              गुलरिया

बिषय : पारित तलबी प्रतिवेदन पठाईएको ।

श्री राजापुर नगरपालिका, नगर कार्यपालिका कार्यालय
राजापुर, बर्दिया ।

प्रस्तुत विषयमा तहाँ कार्यालयको आ.व.२०७७/०७८ को पारित तलबी प्रतिवेदन थान १ यसै पत्र साथ संलग्न राखी पठाईएको छु । पारित तलबी प्रतिवेदन अनुसार मात्र तलब खर्च लेख्ने व्यवस्था गर्नु हुन अनुरोध छ ।

प्रमुख कोष नियन्त्रक

बोधार्थ :
~~~~~
श्री राष्ट्रिय किताबखाना निजामती
हरिहरभवन, ललितपुर / पारित तलबी प्रतिवेदन पाना थान १ यसै पत्र साथ संलग्न राखी पठाईएको व्यहोरा अनुरोध छ ।

(ख) व्यावसायिक वा व्यापारिक पत्र (Business Letter)

संघसंस्थाहरुले एकले अर्को व्यापारीलाई पठाउने व्यावसायिक कारोबार सम्बन्धि चिठीलाई व्यावसायिक वा व्यापारिक चिठी भनिन्छ । व्यावसायिक पत्रमा सोधपुछ, सिकायत, आदेश, परिपत्र, सन्दर्भ तथा आवेदन पत्रहरु पर्दछन् ।

नमुना :

साझा प्रकाशन
सहकारी संस्था लिमिटेड
हरिहरभवन, पुल्चोक

पत्रसंख्या :                                              टेलिफोन नं. :
च.नं. २०१                                               फ्याक्स नं.
मिति : २०७७\०६\०८

बिषय : पुस्तक पठाईदिने ।

श्री प्रवन्ध सञ्चालकज्यु,
जनक शिक्षा सामग्री केन्द्र, लिमिटेड
सानोठिमी, भक्तपुर ।

महोदय,

शैक्षिक सत्र २०७७\०७८ शुरु हुन लागेकाले बिक्रि वितरणका लागि माध्यमिक तहका सबै बिषयका परिमार्जित पाठ्यपुस्तकहरु दश दश हजार थानका दरले पठाईदिनु हुन अनुरोध छ ।

भवदिए
रामहरि महर्जन
शाखा प्रवन्धक

(ग) आवेदन पत्र (Application Letter)

कुनै व्यक्ति वा कर्मचारीले आफ्नो विशेष कामको लागि सरकारी, व्यावसायिक, शिक्षण तथा संघसंस्था आदिमा व्यवहार गर्ने पत्रलाई आवेदन पत्र भनिन्छ । जस्तैः नोकरीका लागि दिईने निवेदन पत्र, विदाका लागि दिईने आवेदन पत्र र कुनै कामका लागि दिईने आवेदन पत्र आदि ।

नमुना

श्रीमान् महाप्रबन्धकज्यु
गोरखापत्र संस्थान
धर्मपथ, काठमाण्डौं ।
मिति: २०७७\०६\०८

बिषय : सम्पादक पदमा नियुक्ति पाउँ ।

महोदय,

मिति २०७७-०६-०१ को गोरखापत्र दैनिकमा प्रकाशित त्यस संस्थानको बिज्ञापन नम्बर १०-२०७७\०७८ को माग अनुसार माग गरिएको सम्पादक पदमा म योग्य भएकाले आवेदन गर्न आएको छु । मैले २०७० सालमा पत्रकारिता बिषय लिई स्नातकोत्तर तह प्रथम श्रेणीमा उत्तीर्ण गरि विभिन्न पत्रपत्रिकाहरुमा लेखन तथा सम्पादनको कार्य गरिसकेको र ५ बर्षको अनुभव हाँसिल गरिसकेको छु । अत: मेरो योग्यता र अनुभव तपसिल बमोजिमको संलग्न कागजातका आधारमा त्यस संस्थानमा सम्पादकमा अस्थायी नियुक्ति भै कामकाज गर्न पाउने आशा लिएको  व्यहोरा अनुरोध गर्दछु ।

तपसिल:

संलग्न कागजातहरु

१. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
२. एस.एल.सी. देखि स्नातकोत्तर सम्मका शैक्षिक योग्यताका प्रमाणपत्रका प्रतिलिपीहरु
३. अनुभवका प्रमाणपत्रका प्रतिलिपीहरु
४. वैयक्तिक विवरण (Bio-Data)
५. आवेदन दस्तुर रु. १,५०० नेपाल बैंक लिमिटेडमा बुझाएको सक्कल भौचर ।

भवदिए
दस्तखत
लालबहादुर विश्वकर्मा
कीर्तिपुर नगरपालिका वार्ड नं. १० कीर्तिपुर, काठमाडौ

(घ) व्यक्तिगत पत्र (Personal Letter) :

कुनै व्यक्तिले आफ्नो परिवारका सदस्य वा साथीभाइ लाई व्यक्तिगत बिषयमा लेखिने पत्रलाई व्यक्तिगत पत्र भनिन्छ । सञ्चो, बिसञ्चो, सुझाव, समाचार, पारिवारिक समाचारहरु व्यक्तिगत चिठीमा समावेश गरिन्छ ।

नमुना

प्यारो छोरा विजय
शुभासिर्वाद                               मिति: २०७७\०६\०८

तिमीले मिति २०७७\०९\१५ गते पठाएको पत्र पाएँ । धेरै खुशी लाग्यो । तिमी बि.एस्सी. प्रथम बर्षमा A+ ग्रेडमा उत्तीर्ण भएछौं । अब दोस्रो बर्षको परिक्षा पनि राम्रो गर्नेछौं । पत्र बाहक तल्ला घरे कान्छो रामबहादुर घर्ती हस्ते रु.२०,०००/- अक्षरेपी बीस हजार मात्र पठाएको छु । पत्र पठाउँदै गर्नु । पढाईमा ध्यान दिनु । याहाँ तिम्री आमा र बहिनी आरामै छन् । सबैले तिमीलाई प्रेम पुर्वक सम्झिरहेका छन् । परिक्षा सिध्याए पछि घर आउनु । अरु बाँकी भेटमा सबिस्तार गरौंला ।

उहीँ तिम्रो माया गर्ने बाबा
हरिबहादुर चौधरी
राजापुर नगरपालिका वार्ड नं.५ बदालपुर, बर्दिया, नेपाल ।

३.५.२ प्राथमिकताका आधारमा चिठीका प्रकार :

पत्रको वर्गीकरण पत्राचार हुने कामको प्रकृति हेरी गर्नुपर्छ । कार्यालयमा विभिन्न प्रकारका काम कारबाही सम्बन्धि पत्राचार हुन्छन् । त्यस्तो काम फर्छ्योट गर्नु पर्दाको समय तथा प्रकृति हेरी प्राथमिकता तोक्नुपर्दछ । कार्यालयमा कारबाहीका लागि प्राप्त हुने र कार्यालयमै उत्थान भएका गरि दुई प्रकारवाट पत्राचारको सुरुआत हुन्छ । अरु कार्यालयवाट आएका पत्रमा सोही कार्यालयको आदेश दिने व्यक्तिले प्राथमिकता अङ्कित गर्नुपर्दछ । नेपाल सरकारको प्रशासकीय कार्य फर्छ्योट नियम, २०२६ तथा आन्तरिक व्यवस्थापन कार्यविधि, २०५८ सामान्य प्रशासन मन्त्रालय, हरिहरभवनवाट प्रकाशित पुस्तिकामा प्रशासकीय कार्य फर्छ्योट बारे पत्रहरुलाई निम्नानुसार वर्गीकरण गर्ने गरिएको छ :

१. साधारण
२. जरुरी
३. अति जरुरी
४. तुरुन्त र
५. गोप्य ।

१. साधारण : कुनै कार्यालयवाट काम फर्छ्योटका लागि केही कुरा जानकारी प्राप्त गर्न लेखी आएको पत्र साधारण पत्र हो । यश पत्रको जवाफ आफैले काम फर्छ्योट गर्नुपर्नेमा ७ दिन र माथिल्लो स्तरमा पेश गर्नुपर्नेमा ३ दिनभित्र पेश गरि कार्य फर्छ्योट गर्नुपर्छ । स्पष्टीकरण : “तुरुन्त” भन्ने प्राथमिकता जनिएकोमा बाहेक अन्य प्राथमिकता जनिएकोमा ‘काम फर्छ्योट गर्ने अवधि’ भन्नाले  काम उत्थान वा शुरु भएको र फर्छ्योट गरेको दिन लाई बाहेक गरि सो बिचको अवधिलाई मान्नुपर्छ ।

२. जरुरी : कार्य फर्छ्योटका लागि पत्रमा पत्रमा प्राथमिकता अङ्कित गर्दा कामको जरुरी पना स्पष्ट गर्नु पर्दछ । जरुरी अङ्कित गरेको पत्र आफैंले फर्छ्योट गर्नुपर्नेमा ५ दिन र माथिल्लो स्तरमा पेश गर्नुपर्नेमा २ दिनमा पेश गरि आदेश प्राप्त गर्नुपर्दछ ।

३. अति जरुरी : कार्यालयमा उत्पत्ति भएको पत्र भए कामको प्रकृति हेरी पत्रको माथि अत्यन्त जरुरी भनि उल्लेख गर्नुपर्दछ । अति जरुरीको सङ्केत राख्दा प्रायः जसो रातो मसिले राख्नुपर्दछ । यस्ता पत्र सम्बन्धि आफैले काम फर्छ्योट गर्नुपर्नेमा ३ दिन र माथिल्लो स्तरमा पेश गर्नुपर्नेमा १ दिनमा फर्छ्योट गर्नुपर्दछ । कहिलेकाही प्राप्त हुनासाथ कारबाही गर्नुपर्ने हुन्छ ।

४. तुरुन्त : कार्यालयमा कुनै कार्य सम्बन्धि तुरुन्त भनि प्राथमिकता अंकित गरि प्राप्त भएको पत्रको कारबाही तुरुन्त गर्नुपर्दछ । कार्यको प्रकृति हेरि तुरुन्त भनी प्राथमिकता अंकित भएको पत्र सम्बन्धि कार्य फर्छ्योट गर्दा आफैले काम फर्छ्योट गर्नुपर्नेमा आफू समक्ष पेश भएकै दिन र माथिल्लोस्तरमा पेश गर्नुपर्नेमा सोही दिन तुरुन्त र कार्यालय उठने समयमा गरेको भए कार्यालय बस्ना साथ तुरुन्त कार्य फर्छ्योट गरि निकासा लिनुपर्दछ ।

५. गोप्य : निश्चित वा अनिश्चित समयसम्म प्रकाशमा ल्याउँदा हानी नोक्सानी तथा नराम्रो असर पर्ने खालका काम कारबाही प्रकाश नगर्नु लाई गोप्य भनिन्छ । यस्ता काम कारबाही सम्बन्धि पत्रलाई गोप्य पत्र भनिन्छ । गोप्य पत्र खास व्यक्तिहरुका वीचमा मात्र सञ्चार हुन्छ । यस्तो पत्र निश्चित व्यक्तिहरुले मात्र थाहा पाउनु पर्ने हुन्छ । त्यसकारण सम्बन्धित व्यक्तिहरू वा कार्यालय प्रमुखले मात्र थाहा पाउने भनि पत्रको माथि गोप्य भनी अंकित गरिन्छ । यस्तो पत्र सम्बन्धित अधिकृतलाई प्रमुखले गोप्य तरिकाले काम गर्न निर्देशन दिई कार्य फर्छ्योट गरिन्छ । गोप्य पत्रको कारबाही गोप्य तरिकाले गरि चलानी पनि सोही बमोजिम गर्नुपर्दछ । खास क्षेत्रमा सीमित राख्नुपर्दछ । गोप्य पत्र खामबन्दी गरि पठाउनुपर्दछ ।

६. अति गोप्य : खास बिषयमा निश्चित क्षेत्रका विशेष व्यक्तिले बाहेक अरुले थाहा पाउन नहुने खालको बिषयको पत्रलाई अति गोप्य भनि पत्रमा अंकित गर्नुपर्दछ । त्यस्ता काम कुरा निश्चित समयमा कुनै सुत्रवाट पनि सम्बन्धित काम गर्ने क्षेत्र वा व्यक्ति बाहेक अरुलाई जानकारी दिनु हुँदैन । अति गोप्य भनि अंकित भै आएको पत्र प्राप्त हुनासाथ कार्यालय प्रमुख वा सम्बन्धित व्यक्ति कहाँ पुर्याउनु पर्दछ । सम्बन्धित व्यक्तिले अध्ययन गरि अति गोप्य तरिकावाट कारबाही गर्नुपर्दछ । कार्य समाप्त भई सकेपछि पनि प्रकाश गर्न नहुनेलाई अति गोप्य राख्नुपर्छ । अति गोप्य पत्र पठाउँदा खामबन्दी गरि त्यसलाई लाहाछाप लगाई खामको बाहिर पनि अति गोप्य भनि लेख्नुपर्दछ ।

Categories

  • Current Affairs 428
  • Gorkhapatra 251
  • Others 734
  • Vacancy 1
  • Past Questions 61

Latest Blogs

Administrative bodies of the Lichchhavi period
Others

लिच्छविकालीन प्रशासनिक निकायहरू

  • Oct 19, 2025
  • 60
World Bank report shows Nepal's economic growth rate over three decades
Current Affairs

विश्व बैङ्कको प्रतिवेदनमा नेपालको तीन दशकको आर्थिक वृद्धिदर

  • Oct 19, 2025
  • 30
Ancient times (before 1825 AD)
Others

प्राचीन काल (वि.सं. १८२५ अगाडि)

  • Oct 17, 2025
  • 114
List of the world's billionaires, 2025
Current Affairs

विश्वका अर्वपतिहरुको सूची, २०२५

  • Oct 17, 2025
  • 55
Public administration of Nepal
Others

नेपालको सार्वजनिक प्रशासन

  • Oct 16, 2025
  • 61
COPYRIGHT © 2025. ALL RIGHTS RESERVED. GHOKSEWA