नेपालको भौगोलिक परिचय

भौगोलिक अवस्थिति
नेपाल दक्षिण एसियामा अवस्थित भूपरिवेष्ठित मुलुक हो। यसको अक्षांशीय दायरा २६°२२’ देखि ३०°२७’ उत्तरी अक्षांश र ८०°४’ देखि ८८°१२’ पूर्वी देशान्तर सम्म फैलिएको छ।
नेपालले विश्वको कुल भूभागको ०.०३ प्रतिशत, एसिया महादेशको ०.३ प्रतिशत, र दक्षिण एसियाको २.८२ प्रतिशत भूभाग ओगटेको छ। यो एसियाका दुई विशाल मुलुक—भारत र चीन—को बीचमा अवस्थित छ। समुद्र (बङ्गालको खाडी) बाट नेपाल करिब ११२७ कि.मि. टाढा छ।
नेपालको कुल क्षेत्रफल १,४७,१८१ वर्ग कि.मि. (५६,८२७ वर्गमाइल) छ। यसको पूर्व–पश्चिम लम्बाइ ८८५ कि.मि. र उत्तर–दक्षिण औसत चौडाइ १९३ कि.मि. छ।
सीमा क्षेत्र
-
दक्षिणमा: भारतको बिहार र उत्तर प्रदेश
-
पश्चिममा: भारतको उत्तराखण्ड
-
पूर्वमा: भारतको पश्चिम बङ्गाल र सिक्किम
-
उत्तरमा: चीनको तिब्बत स्वशासित क्षेत्र
समय निर्धारण
नेपालको प्रामाणिक समय दो लखा जिल्लामा पर्ने गौरीशङ्कर हिमालको ८६°१५’ पूर्वी देशान्तर लाई आधार मानी निर्धारण गरिएको हो। यो समय ग्रीनविच मानक समय (GMT) भन्दा ५ घण्टा ४५ मिनेट अगाडि छ। यो व्यवस्था वि.सं. २०४२ साल बैशाख १ गतेदेखि लागू गरिएको हो।
भू–स्वरूप र जलवायु
नेपाल विश्वकै उचाइमा रहेका हिमालहरूको लागि प्रसिद्ध छ। विश्वका ८,००० मिटरभन्दा माथिका १४ वटा चुचुरामध्ये ८ वटा नेपालमा छन्। साथै, ६,००० मिटरभन्दा अग्ला १,३०० भन्दा बढी चुचुरा पाइन्छन्। केवल मुस्ताङ जिल्लामा मात्र करिब ३०१ चुचुरा रहेका छन्।
नेपालमा हिमालयका साथै कोशी, गण्डकी, कर्णाली जस्ता ठूला नदीहरू र रारा, फेवा, गोसाइँकुण्ड जस्ता सुन्दर तालहरू छन्।
उचाइको विविधताले गर्दा नेपालमा विभिन्न प्रकारका जलवायु पाइन्छन्:
-
उष्ण (Tropical)
-
उपोष्ण (Subtropical)
-
शीतोष्ण (Temperate)
-
उप–आर्कटिक (Subarctic/ Taiga)
-
टुन्ड्रा (Tundra)
विशेष पहिचान
नेपाल विश्व नक्सामा निम्न कारणले विशेष पहिचान राख्छ:
-
विश्वको सर्वोच्च शिखर सगरमाथाको देश
-
गौतम बुद्धको जन्मस्थल लुम्बिनीको देश
-
सीताको जन्मस्थल भएको देश
-
अनौठो आकारको (आयताकार नभएको) राष्ट्रिय झन्डा भएको देश