Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

आधुनिक काल (वि.सं. २००७–२०६३)

  • Bikash Shrestha
  • October 26, 2025
  • 126

आधुनिक काल (वि.सं. २००७–२०६३)

Modern Period (2007–2063)

मध्यकालीन निरंकुश शासन प्रणालीमा चाकडी, भनसुन, मनपरी ढङ्गले कर्मचारी नियुक्ति, अवैज्ञानिक बढुवा र सरुवा, तथा योग्य जनशक्तिको अभावका कारण प्रशासनिक अवस्था कमजोर थियो । २००७ सालमा देशमा प्रजातान्त्रिक शासन प्रणाली प्रारम्भ भएपछि प्रशासनिक सुधारको आवश्यकता देखियो र त्यस दिशामा काम सुरु गरियो । २००७ सालको राजनीतिक परिवर्तनपछि तत्कालीन गृह मन्त्री बि.पी. कोइरालाले गृह मन्त्रालयमा प्रशासनिक प्रमुखको रूपमा सचिव पदको स्थापना गरे । नेपालको अन्तरिम शासन विधान, २००७ अनुसार, २००८ असार १ गते लोक सेवा आयोग स्थापना भयो, जसले निष्पक्ष र तटस्थ रूपमा निजामती कर्मचारीहरूको नियुक्ति गर्ने जिम्मेवारी पायो । वि.सं. २००९ मा भारतीय प्रशासनविद् महेश नीलकण्ठ बुचको अध्यक्षतामा प्रशासन सुधार समिति गठन गरियो, जसले सुधारका सुझावहरू प्रस्तुत गर्‍यो । वि.सं. २०१३ मा तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यको अध्यक्षतामा प्रशासन पुनर्गठन योजना आयोग गठन भयो । यस आयोगले निजामती प्रशासनको सुधार र विकासका लागि आधारशिला राख्यो। आयोगका सुझावअनुसार निजामती सेवा ऐन र नियमावली तयार पारियो, जसले प्रशासनलाई विधिसम्मत बनायो । यसपश्चात् लोक सेवा आयोगबाट सिफारिस भएका व्यक्तिहरूमात्र निजामती सेवामा प्रवेश पाउने व्यवस्था गरियो। योग्यता र दक्षताका आधारमा कर्मचारी वर्गीकरण, तालिम, संगठनात्मक सुधार, र सेवा समूहको व्यवस्था गर्दै निजामती सेवाको व्यवसायीकरण प्रारम्भ गरियो । वि.सं. २०१५ देखि लोक सेवा आयोगले योग्यता प्रणालीअनुसार भर्ना सुरु गरेपछि नेपालमा औपचारिक रूपमा योग्यता प्रणाली लागू भयो  वि.सं. २०१८ वैशाख १ गते नेपाललाई १४ अञ्चल र ७५ जिल्लामा विभाजन गरियो र प्रशासनिक संरचना सोही अनुरूप पुनर्संरचित भयो। सबै जिल्लामा प्रशासनिक एकाइहरू स्थापना भए । अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारसँगै विदेशमा कूटनीतिक निकायहरू पनि स्थापन भए । पञ्चायत कालमा विकेन्द्रीकरण सम्बन्धी सुझावका लागि विश्वबन्धु थापाको अध्यक्षतामा प्रशासन शक्ति विकेन्द्रीकरण आयोग गठन गरियो । वि.सं. २०२२ मा जिल्लास्तरीय प्रशासनिक प्रमुखका रूपमा प्रमुख जिल्ला अधिकारी (C.D.O.) को व्यवस्था गरियो ।

पछि,

  • वि.सं. २०२५ मा वेदानन्द झाको अध्यक्षतामा “प्रतिबद्ध प्रशासन प्रणाली” विकास गर्ने प्रयास,

  • वि.सं. २०३२ मा भेषबहादुर थापाको अध्यक्षतामा “विकास प्रशासनलाई सुदृढ बनाउने” प्रयास भए ।
    यी सबै प्रयासहरूले नेपाल प्रशासनलाई आधुनिक बनाउने दिशा देखाए ।

वि.सं. २०४७ मा प्रजातान्त्रिक सरकार गठन भई नेपाल अधिराज्यको संविधान, २०४७ जारी भएपछि प्रशासनमा सुधार र आधुनिकीकरणको प्रक्रिया तीव्र बन्यो।
वि.सं. २०४८ मा प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाको अध्यक्षतामा उच्चस्तरीय प्रशासन सुधार आयोग गठन गरियो। आयोगले निम्न सुझावहरू दियो —

  1. सरकारका कार्यक्षेत्र घटाई जनजीवनका क्षेत्रमा निजी क्षेत्रको सहभागिता बढाउनुपर्ने।

  2. प्रशासनिक संगठनको पुनर्गठन गर्नुपर्ने।

  3. सुधार कार्यक्रमको अनुगमन सुनिश्चित गर्नुपर्ने।

  4. योजना र विकास प्रक्रियाको पुनर्गठन गर्नुपर्ने।

  5. निजामती सेवालाई विशेषज्ञ सेवा बनाउनुपर्ने।

  6. कर्मचारीको वृत्ति विकास, सरुवा, पदस्थापन र सेवा सुरक्षामा जोड दिनुपर्ने।

  7. ऐन–नियमहरूमा समयानुकूल सुधार र कार्यविवरण तथा कार्यसम्पादन मूल्याङ्कन प्रणाली सुधार गर्नुपर्ने।

  8. मन्त्री र निजामती कर्मचारीबीचको सम्बन्ध स्पष्ट र व्यवस्थित गर्नुपर्ने।

  9. सरकारी कार्यप्रणाली सरल र उत्पादक बनाउनुपर्ने।

  10. विकेन्द्रीकरण र निजीकरणलाई प्रवर्द्धन गर्नुपर्ने।

  11. भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने।

यी सुझावका आधारमा निजामती सेवा ऐन, २०४९ र नियमावली, २०५० जारी भई कार्यान्वयन गरियो। यसका कारण सरकारको कार्यक्षेत्र सीमित हुँदै सेवा प्रवाहमा निजी क्षेत्रको संलग्नता बढ्यो। साथै, कर्मचारी सशक्तीकरण, सेवा सुरक्षा, वृत्ति विकासका अवसर, र ट्रेड युनियनको व्यवस्था पनि स्थापित भयो । यद्यपि सुधार प्रक्रिया निरन्तर चल्ने विषय हो । वि.सं. २०५५ मा स्थानीय स्वायत्त शासन ऐन, २०५५ लागू गरियो, जसले स्थानीय तहसम्म प्रशासनिक संयन्त्रलाई प्रभावकारी बनायो । पछिल्लो चरणमा, आ.व. २०५७/०५८ मा शासकीय सुधार परियोजना सुरु भयो, जसले समावेशी निजामती सेवा स्थापना गर्ने दिशा लियो ।

Categories

  • Current Affairs 433
  • Gorkhapatra 253
  • Others 739
  • Vacancy 1
  • Past Questions 61

Latest Blogs

Reform programs in the agricultural sector in Nepal:
Others

नेपालमा कृषि क्षेत्रमा भएका सुधारका कार्यक्रमहरूः

  • Oct 29, 2025
  • 86
Main provisions of the proposed policy and program
Current Affairs

प्रस्तावित नीति तथा कार्यक्रमका प्रमुख व्यवस्था

  • Oct 29, 2025
  • 58
Women in the Political Structure: Thematic Q&A (12 Kartik 2082, Wednesday)
Gorkhapatra

राजनीतिक संरचनामा महिला : विषयगत प्रश्नोत्तर (१२ कात्तिक २०८२, बुधबार)

  • Oct 29, 2025
  • 10
Public Service Preparation Special: Objective Question and Answer (12 Kartik 2082, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (१२ कात्तिक २०८२, बुधबार)

  • Oct 29, 2025
  • 55
Planned Development in Nepal
Others

नेपालमा योजनाबद्ध विकास

  • Oct 28, 2025
  • 78
COPYRIGHT © 2025. ALL RIGHTS RESERVED. GHOKSEWA