खानेपानी तथा सरसफाइ

राष्ट्रिय योजना आयोगका अनुसार नेपाल सरकारले “दिगो विकासका लक्ष्यहरू २०१५–२०३०” अनुरूप सन् २०३० सम्म ९९ प्रतिशत जनसङ्ख्यालाई आधारभूत स्तरको खानेपानी र सरसफाइ सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ। यो लक्ष्य सरकारी प्रयास मात्रले हासिल गर्न कठिन हुने भएकाले स्थानीय तह, समुदाय, उपभोक्ता, गैरसरकारी सङ्घ–संस्था लगायतका निकायहरूले एकीकृत र समन्वयात्मक रूपमा काम गर्न आवश्यक छ। साथै, खानेपानी र सरसफाइका कार्यक्रमहरूलाई आपसमा सम्बद्ध गर्दै कार्यान्वयनमा लैजानुपर्ने देखिन्छ।आर्थिक सर्वेक्षण २०८०/८१ अनुसार, २०८० फागुनसम्म आधारभूत खानेपानी पहुँच ९६.७५ प्रतिशत जनसङ्ख्यामा पुगेको छ भने उच्च मध्यमस्तरको खानेपानी पहुँच २७.७६ प्रतिशत जनसङ्ख्यामा मात्र पुगेको छ। आधारभूत सरसफाइको पहुँच भने ९५.५० प्रतिशत जनसङ्ख्यामा पुगेको छ। खानेपानी क्षेत्रमा विभिन्न निकाय सक्रिय रहेका छन्। खानेपानीको गुणस्तर र सेवा स्तर वृद्धि गर्न शहरी तथा अर्धशहरी क्षेत्रमा उपभोक्ताको सहकार्यमा आयोजना कार्यान्वयन भइरहेका छन्। सरोकारवालासँगको सहकार्य र सहभागितामा पूर्ण सरसफाइ कार्यक्रम सञ्चालन गरी खुला दिशामुक्त क्षेत्रको विकास गर्ने प्रयास भइरहेको छ। यसै सन्दर्भमा बागमती नदी सफाइलाई ‘महाअभियान’का रूपमा सञ्चालन गरी, देशभरका नदी–नाला सफा राख्ने सन्देश फैलाइएको देखिन्छ।