Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालका १४ प्रथाहरु

  • Ajnabee Khadka
  • September 24, 2023
  • 732

नेपालका १४ प्रथाहरु

नेपालका १४ प्रथाहरु

कुनै देश वा समुदायको पहिचान त्यहाँको रितिरिवाज र संस्कृतिसंग पनि गाँसिएको हुन्छ । विश्वका हरेक मुलुकको आफ्नो पारम्परिक, सामुदायिक र सांस्कृतिक नीति नियमहरु हुन्छन् । जुन सहि होस् या गलत, त्यहाँ बसोबास गर्नेहरुले खुशीखुशी या जबर्जस्ति पालना गर्नैपर्ने हुन्छ । यस्ताखाले नीतिनियमले समाजका हुनेखाने, सम्पन्न र माथिल्लो दर्जाका वर्गहरुमा फाइदा पुगीरहेको हुन्छ भने निम्न वर्गका मानिसहरु शोषणमा परेका हुन्छन् ।

शासक वर्गले शोषित वर्गलाई दमन गर्ने क्रममा नै विभिन्न किसिमका कुप्रथाहरुको प्रचलन चलाएको इतिहासबाट थाहा हुन्छ । त्यहि प्रचलनलाई शोसित वर्गले आफ्नो नियति र भाग्यलाई दोष दिंदै आफुले निर्वाह गर्नेपर्ने कर्मका रुपमा लिन थाले । साथै, यस्तै कुप्रथाको अनुशरण गरेपछि नै उनीहरुको रोजी रोटि र बिहान बेलुकाको छाक टर्ने सम्भावना देखियो । त्यहि कुप्रथाहरु एक पुस्ताबाट अर्को पुस्तामा पुस्तान्तरण हुन थाले । नयाँ पुस्ताले पनि पुर्खाले स्वीकार्दै आएको चलनलाई आफ्नो जिम्मेवारीका रुपमा ग्रहण गर्दै गए । आवाज उठाउने कोहि भएन । शासक शासन गरिरहे । शोसित वर्ग शोसणमा परिरहे र उनीहरुको आवाज भित्र भित्रै दबिरहे ।

नेपालमा पनि धेरै प्रथाहरु वर्षौंदेखि चलिआएका छन् । तिमध्ये केहि प्रथा अन्त्य भैसकेका छन् भने केहि अझै यथावत छन् । दासप्रथा, सति प्रथा, हलिया, कम्हलरी, कमैया, डंगुवा, कटवाल, छाउपडी जस्ता प्रथाहरु नेपाली समाजमा लामो समयसम्म जरा गाडेर कायम रहे । तिमध्ये कतिपय प्रथा उन्मुलन भएका छन् भने कतिपय अझै पनि कायमै छन् । यहाँ नेपालमा कुनै न कुनै कालखण्डमा प्रचलित प्रथाहरुको बारेको जानकारी प्रस्तुत गरिएको छ ।

१. दास प्रथा

मालिकको किनबेचका आधारमा आजीवन पराश्रयी भएर काममा जोतिने नोकर वा कमारोलाई दास भनिन्छ । दासप्रथामा हुनेखाने वर्गले नहुने वर्गमाथि विवशता (मजवुरी) को फाइदा उठाएर शोषण गर्ने गर्दथे । यसको उन्मुलन गर्ने धेरै प्रयास भएपनि चन्द्र शमशेरले वि.स. १९८१ मा दास प्रथाको अन्त्य गर्ने घोषणा गरेका थिए । उक्त घोषणा वि.स. १९८१ देखि कार्यान्वयन भई वि.सं. १९८२ वैशाख १ मा दास प्रथाको अन्त्य भएको घोषणा गरिएको थियो । दास दासीको व्यवस्थापन गर्न तत्कालीन समयमा रू ३६ लाख ७० हजार पशुपतिको गुठीबाट लिइएको थियो । दास दासीका मालिकलाई राज्यले रकम भुक्तानी गरि उनीहरुलाई मुक्त गरिदिएको थियो । त्यसबेला भागेका र आफै मुक्त भएका करिब ५७,८९० जनाको उद्धार भएको थियो ।

२. सती प्रथा

आफ्नो पतिको मृत्यु पश्चात पत्नीले पतिकै शवसँग जलेर मृत्युवरण गर्ने प्रथालाई सती प्रथा भनिन्छ । पतिको मृत्यु पश्चात पत्नीलाई विभिन्न लाञ्छना लाग्ने डरले पत्नीहरू यस्तो कुरीति अंगाल्ने गर्दथे । यस्तो कारूणिक प्रथा पनि धेरै समय चलनमा रह्यो । सर्वसाधारण देखि राज परिवारमा समेत यो चलन ब्यापक थियो।  यस्तो प्रथा अन्त्य गर्ने विभिन्न समयमा विभिन्न प्रधानमन्त्रीहरूले प्रयास गरेका थिए । २८ जुन १९२०(वि.स. १९७७) मा चन्द्रशमशेरले यस प्रथाको अन्त्य गरेका थिए । चन्द्र शमशेरले आफ्नो कार्यकालमा विभिन्न सुधारहरु गरेका छन्।  त्यस मध्ये सति  प्रथाको अन्त्य गर्नुलाई ऐतिहासिक सामाजिक सुधार मानिएको छ।

३. दाईजो प्रथा

छोरीको विवाह गर्दा चेलीलाई दिइने चलअचल सम्पतिलाई दाईजो भनिन्छ । यो प्रथा नेपालको तराई क्षेत्रमा व्याप्त छ । बिशेषगरि दाइजोप्रथा हटाउन विभिन्न पहल भएको भएता पनि अझै यसको उन्मुलन भने हुन सकेको छैन । दाइजो प्रथामा छोरीको कुनै मान्यता हुँदैन । मान्छेभन्दा पनि सम्पतिको बढी मुल्यांकन गरिन्छ । साथै तराई भेगका छोरीचेलीहरुलाई बिवाहपछि पनि दाइजो थोरै ल्याएको भन्दै ज्युँदै आगो लगाएर मार्नेसम्मका घटनासमेत हुने गरेको छ । विवाहका नाममा हुने यस्तो जघन्य अपराध अन्त्य हुन जरुरी छ ।

४. देउकी प्रथा

धार्मिक अन्धविश्वासका कारण देवी देवताको सेवा गर्न मन्दिरमा कन्याहरू चढाउने प्रथालाई देउकी प्रथा भनिन्छ । यो प्रथा सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको सेती र महाकाली अञ्चलका सबैजसो पहाडी जिल्लाहरूमा पाउन सकिन्छ । छोरा नभएमा, महारोग लागेमा, मुद्दा जित्ने भाकल गर्न, आफ्नो मनोकाङ्क्षा र पुख्र्यौली भाकल पूरा गर्न आफ्नै छोरी वा सम्पन्न व्यक्तिले गरिब परिवारको छोरी किनेर पनि चढाउने प्रचलन पाइन्छ । यो प्रथाको केन्द्र बैतडी जिल्लाको मेलाली देवीको मन्दिर हो ।

५. छाउपडी प्रथा

महिनावारी भएका महिलाहरूले घरको आँगन टेक्न नहुने, दुध दही खान नहुने, पढ्न लेख्न नहुने, अरूसँग छुइन नहुने, घरभित्र बस्न नहुने जस्ता प्रचलनलाई छाउपडी प्रथा भनिन्छ । यो प्रथा खासगरी सुदुर पश्चिम र कर्णाली प्रदेशमा प्रचलित छ ।

रजस्वला भएका महिलाहरुलाई घरभन्दा पर गोठमा लगेर राखिन्छ, जहाँ उनीहरुले निकै कष्टकर रात बिताउनुपर्ने हुन्छ । अन्धविश्वासकै कारण छाउ बसेकी महिला बलात्कारको शिकार हुने, बाघको आक्रमण्मा पर्ने,सर्पले डस्नेलगायतका घटनाहरु हुने गरेका छन । छाउपडी मुक्त गर्नका लागि सरकारले पनि धेरै प्रयासहरु गरिरहेको छ । गतवर्ष स्थानिय सरकार र प्रहरी मिलेर छाउगोठ भत्काउने अभियान पनि सुरु गरेका थिए । तर मानिसमा यो प्रथाले यति धेरै जरा गाडेको छ कि छाउगोठ भत्काइएपछि महिलाहरु बारीको पाटोमा पाल टाँगेर बस्न थाले ।

६. कमैया प्रथा

आफ्नो आवश्यकता पूरा गर्न आफ्नो जग्गा जमिन, धन सम्पति साहुकहाँ बन्धक राखी ऋण लिने र उक्त ऋण चुक्ता नगर्दासम्म साहुकै घरमा बस्ने प्रथालाई कमैया प्रथा भनिन्छ । यो प्रथा कैलाली, कञ्चनपुर, दाङ, बाँके, बर्दिया जिल्लामा बढि पाइन्छ । यी जिल्लामा थारु समुदायलाई कमैया राखेर जमिनदारहरुले उनिहरुमाथि बर्षैासम्म श्रम शोषण गरेका थिए । यो प्रथा वि.स.२०५७ साल साउन २ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले अन्त्य गरेको घोषणा गरेको थियो । कानूनी रुपमा यो प्रथा अबैध भए पनि व्यवहारिक रुपमा अझै पनि कतिपय स्थानमा यो प्रथा कायमै छ । यो प्रथाबाट थारु समुदाय शोषणमा परेका छन् ।

७. झुमा प्रथा/ढावा प्रथा

बौद्ध धर्मावलम्बीहरूको समुदायमा तीन छोरा अथवा छोरी भएमा माहिलो छोरा वा माइली छोरीलाई क्रमशः ढावा÷लामा र बौद्धकन्या (झुमा) को रूपमा गुम्बाको हेरचाह अथवा रेखदेख गर्न राख्ने प्रथालाई झुमा प्रथा÷ढावा प्रथा भनिन्छ । यो प्रथा विशेषत ः मुस्ताङ जिल्लाको पाँच गाउँ, बाह्र गाउँ र थाक खोला क्षेत्रमा प्रचलित छ । यसरी झुमा बाध्यतापूर्वक वा स्वेच्छापूर्वक हुने गरेको पाइन्छ । उनीहरूलाई ३ वर्ष ३ महिना ३ दिन गुप्तवास राखी बाजागाजाका साथ गुम्बा वा मन्दिरमा चढाइन्छ ।

८. डंगुवा प्रथा

पूर्वी नेपालका राजवंशी जातिमा प्रचलित लोग्ने बितेकी नारीले नाता नपर्ने परपुरुषलाई लोग्ने जस्तै बनाएर राख्ने प्रथा नै डंगुवा प्रथा हो । यस्तो डंगुवा बस्नेहरू आफ्नो श्रीमती मरेका तर अर्को विहे नगरेका र कमजोर आर्थिक स्थिति भएका पुरुषहरू हुने गर्दछन् । यो प्रथालाई नारी माथि भएको भएको विभेद र शोषणको रुपमा लिइन्छ । अहिले भने यो प्रथा हटिसकेको छ ।

९. कटुवाल प्रथा
गाउँघरमा विकास निर्माणका काम गर्दा, वनको घाँस, दाउरा फडानी गर्दा, भोजभतेर गर्दा, विवाह ब्रतबन्ध आदि कार्य गर्दा सबैले सुन्ने अग्लो स्थानमा गएर चिच्चाएर सबैलाई थाहा दिने कटुवालको पुख्र्यौली पेशालाई नै कटुवाल प्रथा भनिन्छ । यो सामुदायिक संचारको पुरानो र धेरै अभ्यासमा आएको प्रथा हो । कटुवाल प्रथा परम्परागत सूचनाको माध्यम थियो । सूचना दिएवापत प्रत्येक घरबाट एकदुई पाथी अन्न उठाएर कटुवालहरूले जीविका चलाउने गर्दथे । तर कटुवालले काम गरे वापतको ज्याला भने तोकिदैनथ्यो । त्यसैले कटुवाल प्रथालाई पनि श्रम शोषणको पुरानो अभ्यासको रुपमा लिइन्छ । हाल सञ्चारका आधुनिक माध्यमहरुका कारण कटुवाल प्रथा हट्दै गएको छ । तर कतिपय ठाउँमा कटुवालको उचित श्रमज्याला तोकेर यो अभ्यासलाई अहिले पनि निरन्तरता दिएको पाइन्छ ।

१०. डोलाजी प्रथा
यस प्रथाअनुसार शासकवर्ग आफ्ना छोरीबेटीलाई विवाह गरिदिएर बाहिर पठाउन नचाहने हुुनाले दुलहालाई बाहिरबाट झिकाएर विवाह गराइदिने चलन थियो । यसरी विवाह गराउने प्रचलनलाई नै डोलाजी प्रथा भनिन्थ्यो । खास गरेर परिवारमा छोरा नभएर छोरी मात्र भएको अवस्थामा दुलाहाको डोला झिकाउने परम्परा रहेको पाइन्छ । यसरी दुलहा झिकाएर विवाह गराएपछि दुलाहको थर पनि दुलहीको थर जस्तै हुन्थ्यो ।

महारानी देवलदेवीले जयस्थिति मल्लको डोला झिकाई यिनको विवाह राजल्ल्देवीसँग गराइ दिएकी थिइन् । विवाहपछि जयस्थिति मल्ल भएका थिए । डोलीजीप्रथा नेपाल उपत्यकाबाहिर पनि रहेको पाइन्छ । डोला झिकाएर विवाह गरिएको पुरुषको वंशमात्र परिवर्तन नभई छोरासमानको सम्पत्ति वा राजकाजमा पनि अधिकार कायम हुने गर्दथ्यो । यसै नियमअनुसार जयस्थिति मल्ल पनि राजा भएका थिए ।

११. बेठी प्रथा
पूर्वी पहाडमा रोपाईंका क्रममा बाजागाजा बजाउँदै रमाइलो गर्दै जिम्वाल, मुखियाको काम गर्ने प्रथा बेठी प्रथाको रुपमा रहेको छ । मुखियाको घरमा रोपाईं भएको दिन त्यहाँका किसानहरुले आफ्ना सबै काम छाडेर काम गर्न जानुपर्थ्यो । मुख्यतः दर्जी समुदायले बाजा बजाउने र अरुले खेतमा काम गर्नुपर्ने चलन थियो । काम गरेवापत मुखियाले नाचगान, बाजागाजा र खानानास्ताको व्यवस्था गरेपनि काम गरे वापत कुनै पनि पारिश्रमिक दिइन्न । पछिल्लो समय मुखिया र बेठी प्रथा दुवै हट्दै गएको छ । कृषकलाई कृषि कार्यमा हौसला दिने प्रचलनका रुपमा रुपान्तरण गरेर पनि यो प्रथालाई सकारात्मक कार्यका लागि उपयोग गर्न सकिने भनाइहरु पनि आउने गरेका छन् ।

१२. बालीघरे- खलो प्रथा
ग्रामीण क्षेत्रमा काम गरेवापत् दलित समुदायलाई ज्यालाका रूपमा नगद नदिई वार्षिक रूपमा एकमुष्ट ज्यालाका रूपमा अनाज दिने प्रथालाई बालीघरे प्रथा भनिन्छ । बालीघरे प्रथा पनि सामाजका निम्न वर्गको श्रम शोषणको प्रथा हो। वर्षभरि काम गरेपछि त्यसबापत फसल भित्र्याउँने समयमा अनाज दिइन्छ । श्रम गर्ने व्यक्तिको माग भन्दा पनि काम गराउँने व्यक्तिको इच्छा अनुसार अनाज दिइन्छ । यसमा श्रमको कुनै मूल्य तोकिएको हुँदैन । खासगरी फलामको काम गर्ने र कपडा सिलाउने कार्यका लागि बालिघरे प्रथा प्रयोग आएको पाइन्छ । पछिल्लो समय भने बालीघरे प्रथा भन्दा पनि कामबापतको ज्याला लिने प्रचलन चल्न थालिसकेको छ ।

१३. छुवाछुत प्रथा
जतिय छुवाछुतको कुप्रथाको रुपमा रहेको भेदभावपूर्ण प्रचलन छुवाछुत प्रथा हो । खासगरी दलितहरु मथि भएको विभेद्को निकृष्ट अभ्यासको रुपमा यो प्रथा अझै पनि कायमै छ । दलित जातिले हरेक काम गर्न हुने तर घरभित्र पस्न र उनीहरुले छोएको खान नहुने भन्ने प्रचलन अझै पनि नेपालका धेरै स्थानहरुमा व्याप्त छ । जसका विरुद्धमा बेलाबखत आवाज पनि उठ्ने गरेको छ । कानूनले जातिय छुवाछुतलाई सामाजिक अपराधको रुपमा उल्लेख गरेको छ । तर व्यवहारमा नेपालमा छुवाछुत प्रथा अझै पनि व्याप्त छ । शास्त्रीय रुपमा यस किसिमकाजातिय विभेदहरु क्हि कतै छैन । तर धर्म र प्रचलनको नाममा गरिएका शोषण, विभेद लगायतका यी प्रथाहरु हाम्रो विकासका बाधक मानिएका छन् ।

१४. कमलरी प्रथा

कमलरी प्रथा नेपालको मध्य तथा सुदूर पश्चिमाञ्चल विकास क्षेत्रका तराईका जिल्लामा प्रचलित कुप्रथा हो। जसामा बाबुआमाले लिएको ऋण तिर्न छोराछोरीलाई साहुको घरमा घरेलु बालश्रमिक बनाएर राखिन्छ । ऋण चुक्ता नहुन्जेलसम्म कमलरी राखिएको बालबालिकाले साहुकै घरमा काम गर्नुपर्थ्यो ।

बिगतमा समुदायमा विद्यमान गरीबी एवं अशिक्षाका कारण आफ्ना नाबालक छोराछोरीलाई कमलर/कमलरीको रूपमा सम्भ्रान्तहरूका घरमा पठाउने कामलाई सामान्य रूपमा लिइयो । समय बित्तै जाँदा यसले प्रथाकै रूप लियो । हरेक वर्ष थारु समुदायमा मनाइने माघीका अवसरमा आफ्ना छोराछोरीलाई कमलर/कमलरीका रूपमा सम्भ्रान्त एवं जमीनदारका घरमा घरायसी मजदुरका रूपमा पठाउने प्रचलन भयो । थारु समुदायको अति महत्त्वपूर्ण मानिने चाड माघीसँग कमलरी राख्ने कुरा जोडिनुले पनि यसले प्रथाको रूप ग्रहण गरेको देखिन्छ । पछिल्लो चरणमा मानव अधिकारको व्यापक बहस र समाजमा शिक्षाको स्तर बढ्दै जाँदा यसको उन्मूलनतर्फ पाइलाहरू चालिए । सन् २००६ देखि यो प्रथा उन्मूलन गरिएको भए पनि कम्हलरीहरुको उचित व्यवस्थापन भने हुन सकेको छैन ।

Categories

  • Current Affairs 679
  • Gorkhapatra 315
  • Others 1063
  • Vacancy 1
  • Past Questions 82
  • Nepal Police 7

Latest Blogs

International organizations and programs
Others

अन्तर्राष्ट्रिय संघ/संस्था र तिनका प्रमुख कार्यक्रमहरू

  • Jun 16, 2026
  • 87
Questions and answers related to international organizations/institutions
Others

अन्तर्राष्ट्रिय संघ/संस्था सम्बन्धित प्रश्नोत्तर

  • Jun 16, 2026
  • 109
Provincial Budget (Fiscal Year 2083/84)
Current Affairs

प्रदेशगत बजेट (आर्थिक वर्ष २०८३/८४)

  • Jun 16, 2026
  • 105
World famous scientists and their birthplaces
Others

विश्वका ख्यातिप्राप्त वैज्ञानिकहरू र उनीहरूको मूल थलो (जन्मदेश)

  • Jun 15, 2026
  • 180
CTEVT Construction/Plumbing Assistant Trainer Written Exam (2083/02/30)
Past Questions

CTEVT निर्माण/प्लम्बिङ सहायक प्रशिक्षक लिखित परीक्षा (२०८३/०२/३०)

  • Jun 14, 2026
  • 190
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA