कार्यालय/कार्यालय व्यवस्थापनः परिचय‚ कार्य र महत्त्वहरू

सामान्य अर्थमा कार्यालय भन्ने बित्तिकै काम (job) गर्ने ठाउँ (place) भनेर बुझिन्छ । तर, हामीद्वारा दैनिक जीवनमा सम्पादन गरिने विभिन्न कृयाकलापकहरू कुनै न कुनै ठाउँमा नै सम्पादन गरिएको भएता पनि व्यवस्थापनमा ती ठाउँहरूलाई कार्यालय भनेर बुझिँदैनन् । अर्थात्, कार्यसम्पादन गरिने हरेक ठाउँलाई कार्यालय भन्न सकिन्न । कार्यालय हुनका लागि कार्यहरू सङ्गठित रूपमा गर्नुपर्ने हुन्छ, भने सम्पादन गरिने कार्यहरू कुनै उद्देश्य प्राप्तिसँग जोडिएको हुनु पर्दछ । त्यस्तै सार्वजनिक होस् वा निजी कार्यालय सञ्चालनका लागि सङ्गठन(organization) हुनु पूर्वशर्तको रूपमा रहेको हुन्छ भने कार्यालय नभईकन सङ्गठनबाट उपलब्ध गराइने वस्तु तथा सेवा उपभोक्ता वा ग्राहक सम्म पुर्याउन सम्भव हुँदैन । तसर्थ कार्यालयलाई कुनै पनि सङ्गठनको मुटु (“Office is the heart of an organization.”) मानिन्छ । साङ्गठनिक उद्देश्य तथा लक्ष्य हासिल गर्नका लागि व्यवस्थापकीय र प्रशासनिक कार्यहरू (functions) सम्पादन गर्न तोकिएको क्षेत्र वा स्थान नै कार्यालय हो, जहाँ आवश्यक मानवीय तथा भौतिक श्रोत साधनहरूको व्यवस्था गरिनुका साथै सम्पादित कार्यहरूको अभिलेख राखिन्छ । यस अन्तर्गत कार्य सम्पादन गर्ने सम्पूर्ण संयन्त्र र प्रक्रिया पर्दछ । सङ्क्षेपमा बुझ्नु पर्दा कार्यालय सङ्गठनका क्रियाकलापहरूको POSDCORB अर्थात् Planning, Organizing, Staffing, Directing, Coordinating, Reporting र Budgeting सम्बन्धी काम गर्ने स्थान हो ।
जर्ज आर. टेरीका अनुसार “कार्यालय भन्नाले त्यस्तो स्थानलाई बुझाउँछ जहाँ संगठनलाई नियन्त्रण गर्ने संयन्त्र रहेको हुन्छ ।
Oxford Dictionary ले कार्यालयलाई “A room, department, or building used to provide a particular service.” भनी परिभाषित गरेको छ ।
कार्यालय सार्वजनिक अख्तियारीको उपयोग गर्ने ठाउँ हो । विश्वमा व्यवस्थित रूपमा कार्यालयको निर्माण तथा विस्तार १८औँ शताब्दी देखि भएको पाईन्छ । यसको स्थापना जनसङ्ख्या, भूगोल, स्थानीस्तरमा सेवाको आवश्यकता तथा सान्दर्भिकता हेरेर गरिन्छ ।
कार्यालय व्यवस्थापन प्रभावकारी भए मात्र सेवा प्रवाह सहज, सुलभ र सरल हुन सक्नुका साथै सार्वजनिक निकायहरू नागरिक मैत्री बन्न सक्छन् । यसद्वारा सरकार तथा कर्मचारीतन्त्रप्रतिको सर्वसाधारणको धारणामा सकारात्मक परिवर्तन ल्याउनुका साथै कम लागतमा बढी सेवा (maximum services in minimum cost) प्रदान गरी सेवाग्राही र कार्यालयको समय बचत गर्न सकिन्छ । तसर्थ कार्यालय व्यवस्थापनमा आएका नवीनतम प्रवृत्तिहरू र निजी क्षेत्रका उदाहरणीय व्यवस्थापकीय सीपलाई अङ्गाली सार्वजनिक कार्यालयहरूको गुणस्तरीय व्यवस्थापन गर्नु वर्तमान समयको माग देखिन्छ ।