Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

मानव अधिकार र नेपालमा यसको अवस्था सुदृढ गर्न चाल्नुपर्ने कदमहरु

  • Ajnabee Khadka
  • October 21, 2023
  • 994

मानव अधिकार र नेपालमा यसको अवस्था सुदृढ गर्न चाल्नुपर्ने कदमहरु

मानव अधिकार र नेपालमा यसको अवस्था सुदृढ गर्न चाल्नुपर्ने कदमहरु

अवधारणा :
– मानिस भएर जन्मेको कारणले विश्वको जुनसुकै पनि मानिसलाई स्वतः प्राप्त हुने अधिकारलाई मानव अधिकार भनिन्छ । यस अन्तर्गत त्यस्ता अधिकारहरु पर्दछन् जुन अधिकारहरु विश्वभरीका सबै मानिसहरुमा जाति, भाषा, धर्म, रंग, लिंग, राष्ट्रियता (नागरिकता), उत्पति, सामाजिक र आर्थिक स्थिति, राष्ट्रिय सिमाना आदिको भेदभाव विना निहित रहन्छ र यिनीहरुको सृजना अन्तराष्ट्रिय कानूनद्वारा हुन्छ ।

– मानवलाई न्यूनतम मानवीय मर्यादा सहित हुर्कन, बाँच्न र जीवनयापन गर्नको लागि आवश्यक अधिकारहरुको समष्टिलाई मानव अधिकार भनिन्छ । यस्ता अधिकारहरुको अभावमा मानव मानवको रुपमा बाँच्न मुश्किल पर्दछ । यो अधिकार धनी, गरीब, ठूला, साना, काला, गोरा, महिला, पुरुष, बालक, बृद्ध सबैलाई उत्तिकै आवश्यक हुन्छ ।

– सर्व प्रथम सन् १९४८ मा संयुक्त राष्ट्र संघको प्रयासमा विश्वव्यापी मानव अधिकार सम्बन्धी घोषणा पत्र जारी भएको थियो । यसको अलावा अन्य विभिन्न महासन्धि निर्माण भइरहेका छन् ।

– राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ अनुसार, “मानव अधिकार भन्नाले व्यक्तिको जीवन, स्वतन्त्रता, समानता र मर्यादासँग सम्बन्धित संविधान तथा अन्य प्रचलित कानूनद्वारा प्रदान गरिएका अधिकारलाई संझनुपर्छ र सो शब्दले नेपाल पक्ष भएका मानव अधिकार सम्बन्धी अन्तराष्ट्रिय स सन्धिमा निहित अधिकार समेतलाई जनाउँछ । ”

– म्यारी रोविन्सनका अनुसार, ”ह्युमन राइट्स आर इनसस्क्राइब्ड इन् द हर्टस् अफ् पिप्ल, दे वयर दियर लङ्ग बिफोर ल मेकर्स ड्राफ्टेड दिय फर्स्ट प्रोक्लेमेशन”

मानव अधिकारको वर्गीकरण
सामान्यतः मानव अधिकारलाई निम्न अनुसार वर्गीकरण गरिएको पाइन्छ । यद्यपि कुनै एक प्रकारको अधिकार मात्र मानव अधिकार होइन, सबै अधिकारको पूर्णता मानव अधिकार हो ।

१) नागरिक तथा राजनैतिक अधिकार :यसलाई पहिलो पुस्ताको अधिकारको रुपमा लिने गरिन्छ । मानिसका प्राकृतिक अधिकारहरुलाई यस अन्तर्गत समावेश गरिएको छ । मानव अधिकारको विश्वव्यापी घोषणपत्र, १९४८ र नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अभिसन्धी, १९६६ ले यी अधिकारहरुको प्रत्याभूति गरेका छन् । यस अधिकारलाई निम्न दुई भागमा राखेर हेर्न सकिन्छ :
क) नागरिक अधिकार  : जीवनको स्वतन्त्रता र वैयक्तिक सुरक्षाको अधिकार, भौतिक आक्रमण विरुद्धको अधिकार, गैर कानूनी थुना तथा देश निकाला र दासत्व विरुद्धको अधिकार, विचार र अन्तष्करणको अधिकार आदि अधिकारलाई यस अन्तर्गत राख्न सकिन्छ ।
ख) राजनीतिक अधिकार : अभिव्यक्ति स्वतन्त्रता, संगठन तथा शान्तिपूर्वक भेला हुन पाउने अधिकार, मतदान गर्न पाउने अधिकार एवं शासन गर्न पाउने अधिकार आदि जस्ता अधिकारहरु यस अन्तर्गत पर्दछन् ।

२) आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकार : यी अधिकारहरुलाई दोस्रो पुस्ताको अधिकारको रुपमा लिने गरिन्छ । मानव अधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ र आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकार सम्बन्धी अभिसन्धी, १९६६ ले यिनको संरक्षणमा जोड दिएको छ । यी अधिकारलाई पनि आर्थिक तथा सामजिक अधिकार र साँस्कृतिक अधिकार गरी दुई भागमा बाँड्न सकिन्छ :
क) आर्थिक तथा सामाजिक अधिकार : सम्पति, स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षाको अधिकार यसमा पर्दछन् ।
ख) साँस्कृतिक अधिकार  : साँस्कृतिक जीवनमा सहभागी हुन पाउने अधिकार, वैज्ञानिक खोजको अधिकार, साहित्य कला सम्बन्धी अधिकारहरु यसमा पर्दछन् ।
ग) सम्बन्धको अधिकार : यस अन्तर्गत संगठित हुने अधिकार, संघ संस्था खोल्ने अधिकार, सामुदायिक सम्बन्धको अधिकार, शान्तिपूर्ण जीवन व्यतीत गर्ने अधिकार, स्वच्छ वातावरणमा बस्न पाउने अधिकार पर्दछन् । यी अधिकारलाई तेस्रो पुस्ताको अधिकार को रुपमा लिने गरिन्छ ।

विश्वमा मानव अधिकारको अवधारणाको उत्पति र विकास :

  •  हामी मानव अधिकार र न्याय कसैलाई बेच्ने छैनौं, कसैलाई इन्कार गर्ने छैनौं र कसैलाई ढिला गर्ने छैनौं भन्ने मूल उद्घोष रहेको सन् १२१५ को म्याग्नाकार्टा आधार स्तम्भको रुपमा रहेको ।
  • सन् १६२८ को ‘अवार्ड कोक’को अधिकारपत्र जसले कुनै पनि व्यक्तिलाई मनोमानी गिरफ्तार गर्न नपाउने र शान्तिको समयमा सैनिक प्रयोग गर्न नपाउने व्यवस्था गर्दै नागरिक स्वतन्त्रतामा जोड दिएको थियो ।
  • सन् १६८८ को गौरवमय क्रान्ति जसले बेलायतमा राजा र जनताका प्रतिनिधिबीच सम्झौता गराई कानूनको अगाडि समानता र कानूनको सर्वोच्चता, सम्पति सम्बन्धी स्वतन्त्रता लगायत कुनै पनि व्यक्तिलाई क्रुर र अमानवीय रुपमा यातना दिन नपाउने अधिकारको घोषणा गर्‍यो, जसलाई ‘बिल अफ राइट्स’ भनिन्छ ।
  •  अमेरिकी स्वतन्त्रता संग्रामको बेला सन् १७७६ मा जीवन, स्वतन्त्रता र सुखको खोजी गर्ने अधिकारलाई मानवबाट अलग गर्न नसकिने कुरा स्वीकार गरिएको ।
  •  फ्रान्सेली राज्यक्राति पश्चात जारी भएको मानव तथा नागरिकहरुको अधिकार सम्बन्धी घोषणा १७८९ ले जनताका अधिकारलाई सर्वोच्च रुपमा स्वीकार गर्‍यो ।
  •  सन् १९४५ मा संयुक्त राष्ट्रसंघको स्थापना पछि मानव अधिकारको संस्थागत विकास भएको पाइन्छ ।
  •  संयुक्त राष्ट्रसंघकै पहलमा सन् १९४८ डिसेम्बर १० मा मानव अधिकारको विश्वव्यापी घोषणा (यूनिभर्सल डिक्लेरेसन अफ ह्युमन राइट्स) जारी गरियो ।
  •  नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अनुबन्ध, १९६६ र आर्थिक सामाजिक, साँस्कृतिक अधिकार सम्बन्धी अनुबन्ध, १९६६ जारी गरिएको छ ।
  •  सन् १९४६ मा नै संयुक्त राष्ट्रसंघको प्रमुख अंग आर्थिक तथा सामाजिक परिषदबाट मानव अधिकार आयोग स्थापना भई क्रियाशील रहेको छ ।
  •  दासत्व विरुद्धको अधिकार, यातना विरुद्धको अधिकार (सिएटी), महिला विरुद्ध हुने भेदभाव विरुद्धको अधिकार (सिड), मानिसको बेचविखन विरुद्धको अधिकार, बालअधिकार (सीआरसी) लगायत विभिन्न अधिकारहरुको संरक्षणका लागि बाध्यात्मक अभिसन्धीहरु जारी गरिएको छ ।
  • राज्य संयन्त्रवाट हुन सक्ने मानवता विरुद्वका अपराध नियन्त्रणको लागि सन् १९९८ मा रोम विधान अनुसार अन्तर्राष्ट्रिय फौजदारी अदालत स्थापना भई सन् २००२ देखि यसको विधान लागू भएको छ ।

नेपालमा मानव अधिकारको संरक्षण र संबर्धन सम्बन्धित व्यवस्था
संवैधानिक व्यवस्था 
– नेपालको अन्तरिम संविधान २०६३ मा पहिलो पटक राष्ट्रिय मानव अधिकार आयोगलाई संवैधानिक निकायको रूपमा स्वीकार गरिएकोमा नेपालको नयाँ संविधानमा पनि यसलाई निरन्तरता दिइएको ।

– संविधानको भाग ३ मा धारा १६ देखि ४६ सम्म गरी ३१ वटा हकको व्यवस्था गरी मानव अधिकारको पहिलो पुस्ता तथा दोस्रो पुस्ता अन्तर्गत पर्ने विभिन्न अधिकारहरुलाई समेटिएको । साथै धारा ४७ मा तीन वर्षभित्र मौलिक हकको कार्यान्वयनको लागि आवश्यक कानून निर्माण गरिने कुरा उल्लेख गरिएको छ ।

– उपरोक्त मौलिक हकहरुको अतिरिक्त संविधानद्वारा नेपाल सरहदभित्र फेला परेको पितृत्व र मातृत्वको ठेगाना नभएको प्रत्येक नाबालक निजको बाबु वा आमा फेला नपरेसम्म वंशजको आधारमा नेपाली नागरिकता पाउने, १८ वर्ष उमेर पुगेको नेपाली नागरिकलाई मतदान गर्न पाउने हक सुरक्षित गरिएको छ ।

– राज्यका नीति, सिद्वान्त तथा दायित्व सम्बन्धी व्यवस्था गरी मानव अधिकारको दोश्रो पुस्ता तथा तेस्रो पुस्तालाई पनि राज्यको सकारात्मक दायित्वको रूपमा स्वीकार गरिएको पाइन्छ ।

कानूनी व्यवस्था  
विद्यमान नेपाल कानूनहरुले विभिन्न मानव अधिकारहरुको सृजना, संरक्षण र प्रवर्द्धन गरेका छन् । ती प्रमुख कानूनहरु स्
-मानव अधिकार आयोग ऐन, २०६८: यसले मानव अधिकारको सम्मान, संरक्षण र संवर्द्धन तथा त्यसको प्रभावकारी कार्यान्वयनलाई सुनिश्चितता प्रदान गरेको छ ।

-नागरिक अधिकार ऐन, २०१२ : यसले प्रत्येक नेपाली नागरिकको स्वतन्त्रता, धर्म, सम्पति आदिको हकलाई सुनिश्चित गरेको छ ।

-जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन, २०६८ : यसले जातीय भेदभाव तथा छुवाछुत विरुद्ध विभिन्न हक सुनिश्चित गरेको छ ।

-आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ , आइएलओ महासन्धी १६९ लगायतले आदिवासी जनजातिको संस्कृति र पहिचान सम्बन्धी हक प्रदान गरेको छ ।

-घरेलु हिंसा (कसुर र सजाय) ऐन, २०६६, मानव बेचविखन तथा ओसार पसार नियन्त्रण ऐन, २०६४, राष्ट्रिय महिला आयोग ऐन, २०६३ ले महिला सम्बन्धी विभिन्न हकहरुको सृजना तथा संरक्षण गरेको छ ।

-श्रम ऐन, २०७४, ट्रेड यूनियन ऐन, २०४९ लगायतका कानूनहरुले श्रमिकहरुको हक सुनिश्चित गरेको छ ।

-सामाजिक अपराध तथा सजाय ऐन, २०३२, उपभोक्ता संरक्षण ऐन, २०५४, प्रतिस्पर्धा प्रवर्द्धन तथा बजार संरक्षण ऐन, २०६३ , आवश्यक सेवा सञ्चालन ऐन, २०१४, खाद्य ऐन, २०२३ लगायतले उपभोक्ताको हक संरक्षण गरेको छ ।

-प्रतिलिपि अधिकार ऐन, २०५९ ले सर्जकको अधिकार सुनिश्चित गरेको छ ।

-नेपाल मानव अधिकार सम्बन्धी मुख्य दस्तावेजहरु र नौ मुख्य महासन्धीहरुमध्ये सात समेत गरी मानव अधिकार सम्बन्धी २२ अन्तराष्ट्रिय महासन्धीहरुको पक्ष राष्ट्र भएको छ ।

यसैगरी चालु आवाधिक योजना, बजेट सबैतिर मानव अधिकारको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनमा विशेष जोड दिइएको छ भने यस सम्बन्धी कामलाई प्रभावकारी एवं योजनाबद्ध ढंगले अघि बढाउन पाँचौ रणनीतिक योजना २०१५ देखि २०२० निर्माण गरी हाल कार्यान्वयनमा रहेको छ ।

संस्थागत व्यवस्था 

  •  अदालत : असाधारण अधिकार क्षेत्र सहितको सर्वोच्च अदालत, अन्य विभिन्न तहका अदालतहरु, विषयगत मुद्दाहरु हेर्न श्रम अदालत, प्रशासकीय अदालत, राजश्व न्यायाधीकरण, वैदेशिक रोजगार न्यायाधीकरण, ऋण असुली न्यायाधीकरण, विभिन्न अर्धन्यायिक निकायहरु आदि ।
  •  संवैधानिक निकायको रुपमा राष्ट्रिय मानव अधिकार आयोग,
  • अन्य संवैधानिका निकायको रुपमा राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेशी आयोग, थारू आयोग र मुस्लिम आयोग आदि ।
  •  विभिन्न समिति, प्रतिष्ठान,
  •  प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय,
  •  नेपाल सरकारका विषयगत मन्त्रालयहरु,
  •  विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी संस्थाहरु,
  •  सञ्चार जगत,
  •  विभिन्न दवाव तथा हित समूहरु आदि ।

मानव अधिकारको संरक्षण र विकाससँग सम्बन्धित समस्या तथा चुनौतिहरु
मानव अधिकारको संरक्षण र सम्वर्द्धनको लागि सरकार र सार्वजनिक निकाय, नागरिक समाज, राष्ट्रिय मानव अधिकार आयोग तथा राष्ट्रिय अन्तर्राष्ट्रिय गैर सरकारी संघ संस्था तथा सञ्चार माध्यमलाई प्रमुख सरोकारवाला निकाय मान्न सकिन्छ । मानव अधिकारको संरक्षण र सम्वर्द्धनको लागि यी हरेक निकायको भूमिका प्रभावकारी हुनुपर्छ । यी क्षेत्रहरु मानव अधिकाररुपी टेवलका चार खुट्टाको रुपमा लिन सकिन्छ ।

सरकार र अन्तर्गतका निकायमा विद्यमान समस्या तथा चुनौतिहरु :

  • शान्ति सम्झौता भएको लामो समयसम्म सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोग गठन हुन नसक्नु र धेरै लामो समय पछि यसको गठन गरिए तापनि यसले प्रभावकारी रुपमा काम गर्न नसकेको ।
  • राजनीतिको अपराधिकरण र अपराधको राजनीतिकरण हुनु ।
  •  संविधान प्रदत्त मौलिक हकहरुको प्रचलन गराउन आवश्यक पूर्वाधार तयार नगरिएको ।
  •  सरकारी पदाधिकारी तथा कर्मचारीहरुमा मानव अधिकारका विश्वव्यापी मूल्य, मान्यता र आदर्शलाई आधार मानि कार्य गर्ने संस्कृतिको अभाव देखिएको ।
  •  मुलुकमा शान्ति सुरक्षाको अवस्था सुदृढ हुन नसकेको ।
  • राष्ट्रिय मानव अधिकार आयोगका सिफारिसहरु कार्यान्वयन नगरिनु ।
  •  जथाभावी मुद्दा फिर्ता लिने तथा माफि दिने प्रचलन बढेकोले दण्डहीनता बढेको ।
  •  द्वन्दको समयमा वेपत्ता परिवारहरूलाई अझै पूर्ण रुपमा राहत उपलव्ध गराउन नसक्नु ।

राष्ट्रिय मानव अधिकार आयोगसँग सम्वन्धित समस्या तथा चुनौतिहरु : 

  •  राष्ट्रिय मानव अधिकार आयोगका सुझावहरु सरकारले कार्यान्वयन गर्ने बाध्यकारी व्यवस्था नहुनु ।
  • मावन अधिकारको उल्लंघन गर्नेलाई आयोगले नाम सार्वजनिक गर्ने बाहेक अरु कुनै कारवाही गर्न नसक्नु । आयोगले नाम सार्वजनिक गर्ने काम समेत गर्न नसकेको ।
  •  मानव अधिकारको संरक्षण र सम्बर्द्धनको लागि आयोगलाई आवश्यक कानूनी लगायत अन्य पूर्वाधार नहुनु ।
  • राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारी समेत राजनैतिक भागवण्डाको आधारमा नियुक्ति गर्ने संस्कार रहेको ।
  • लामो समयसम्म राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीहरु र कर्मचारीहरु नियुक्त हुन नसक्नु ।
  • आयोगको कार्यालयको लागि आफ्नो भवन नहुनु , जोखिमपूर्ण भवनमा बस्न बाध्य हुनु तथा अन्य भौतिक पूर्वाधारको समेत अभाव हुनु ।

आम जनतासँग सम्बन्धित समस्या तथा चुनौतिहरु :

  •  जनताहरुमा सचेतनाको अभाव ।
  •  जनताहरुमा अत्यधिक सहनशिलताको भावना ।
  •  जनताहरु आर्थिक, सामजिक हिसावले निकै कमजोर भएकोले उनीहरुले मानव अधिकारका कुराहरुमा चासो दिन नसकेका ।
  •  हाम्रो मान्छे, राम्रो मान्छे भन्ने नागरिक संस्कार विकास हुँदै गएको ।

सञ्चार माध्यम, पैरवी गर्ने संस्थाहरुसँग सम्वन्धित समस्याहरु :

  •  उनीहरुका गतिविधिहरु शहर केन्द्रित हुनु ।
  • वास्तविक पिडितको पक्षमा कार्य गर्नुभन्दा सस्तो लोकप्रियता र प्रचारबाजीमा केन्द्रित हुनु ।

अन्य कारणहरु

  •  हुँदा खाने र हुने खाने बीचको खाडल वढ्दै जानु ।
  •  मानव अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिमा उल्लेखित दायित्व पूरा गर्न नसक्नु ।
  •  नेपाल रोम महासन्धिको हाल सम्म पक्ष राष्ट्र नवन्नु ।
  • कतिपय मौलिक हकहरू कार्यान्वयनको दृष्टिकोणले कमजोर अवस्थामा रहनु ।
  •  भएका कानूनहरूको कार्यान्वयन पक्ष कमजोर रहनु आदि ।

मानव अधिकारको अवस्था सुदृढ गर्नको लागि सुझावहरु : 

सरकार र अन्तर्गतका निकायमा गर्नुपर्ने सुधार 

  • सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोगको म्याद सकिन लागेको तर यी आयोगहरुले गर्नुपर्ने कामहरु धेरै बाँकी नै रहेकोले प्रभावकारी काम गर्ने वातावरण सृजना गरी पुन: एक वर्ष म्याद थप गर्ने ।
  •  अपराधिलाई कुनै पनि हालतमा राजनैतिक संरक्षण नदिने कुरा घोषण गरी त्यसको प्रभावकारी ढंगले कार्यान्वयन गर्ने ।
  •  संविधान प्रदत्त मौलिक हकहरुको प्रचलन गराउन आवश्यक पूर्वाधार तयार गर्ने ।
  •  सरकारी पदाधिकारी तथा कर्मचारीहरुमा मानव अधिकारका विश्वव्यापी मूल्य, मान्यता र आदर्शलाई आधार मानी कार्य गर्ने संस्कृतिको विकास गर्न आवश्यक तालिम, प्रशिक्षणको व्यवस्था गर्ने ।
  •  मुलुकमा शान्ति सुरक्षाको अवस्था सुदृढ गराउने ।
  •  राष्ट्रिय मानव अधिकार आयोगका सिफारिसहरु कार्यान्वयन गर्नुपर्ने बाध्यकारी व्यवस्था गर्ने ।
  •  जथाभावी मुद्दा फिर्ता लिने तथा माफि दिने प्रचलन को अन्त्य गर्ने ।
  •  राहत, पुनः स्थापना, पुनः निर्माण , पुनः एकीकरण आदि कार्यलाई दू्त गतिमा अघि बढाउने ।
  •  भन्ने गरिन्छ मानव अधिकार विनाको आर्थिक विकास अमानवीय हुन्छ र आर्थिक विकास विना मानव अधिकार असंभव छ । तसर्थ मानव अधिकारका आधारभूत मूल्य मान्यताको संरक्षण, सम्वर्द्धन गर्दै आर्थिक विकास गर्ने र मुलुकबाट गरीबी, पछौटेपन हटाउने ।

राष्ट्रिय मानव अधिकार आयोगमा गर्नुपर्ने सुधार 

  • राष्ट्रिय मानव अधिकार आयोगका सुझावहरु सरकारले कार्यान्वयन गर्ने बाध्यकारी व्यवस्था गर्ने ।
  •  मावन अधिकारको उल्लंघन गर्नेलाई आयोगले अख्तियारले भ्रष्ट्राचारको सवालमा मुद्दा चलाएजस्तै मुद्दा चलाउन सक्ने अधिकार दिनुपर्ने ।
  •  आयोगले पनि आफूलाई प्राप्त अधिकारको निष्पक्षता र निर्भयताको साथ प्रयोग गर्नुपर्ने । जस्तो मानव अधिकारको उल्लंघनकर्ताको नाम सार्वजनिक गर्ने, क्षतिपूर्तिको रकम तोकी सो दिन आदेश दिने आदि ।
  •  मानव अधिकारको संरक्षण र सम्वर्द्धनको लागि आयोगलाई आवश्यक कानूनी लगायत अन्य पूर्वाधार को व्यवस्था गरिनुपर्ने ।
  •  राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारी राजनैतिक भागवण्डाको आधारमा नियुक्ति गर्ने संस्कारको अन्त गरी योग्यता र क्षमताको आधारमा गर्ने परिपाटीको विकास गर्ने ।
  • आयोगको कार्यालयको लागि भवन लगायत आवश्यक पूर्वाधारको व्यवस्था गरिनुपर्ने ।

आम जनतासँग सम्वन्धित सुझावहरु :

  •  जनताहरुमा सचेतनाको विकास गर्न विभिन्न औपचारिक तथा अनौपचारिक माध्यमद्वारा सचेतना कार्यक्रम सञ्चालन गर्ने ।
  •  जनताहरुमा सत्य तथ्यको निर्भयता र निष्पक्षताको साथ राख्ने क्षमताको विकास गर्ने ।
  • जनताको आर्थिक, सामाजिक सशक्तीकरण गर्ने ।
  • हाम्रो मान्छे राम्रो मान्छे भन्ने नागरिक संस्कारको अन्त गर्ने ।

सञ्चार माध्यम, पैरवी गर्ने संस्थाहरुसँग सम्वन्धित सुझावहरु : 

  • विकट ग्रामीण वस्ती तथा दुर्गममा कार्यक्रम सञ्चालन गर्ने ।
  •  सस्तो लोकप्रियता र प्रचारबाजीमा नलागी मानव अधिकारको संरक्षण र सम्वर्द्धनमा केन्द्रित हुने ।

निष्कर्ष :
मानव अधिकारलाई हामीले शान्ति र विकासको मूल आधारको रुपमा स्वीकार गरेको सन्दर्भमा उपरोक्त सुझावहरुलाई ग्रहण गर्दै संविधान, कानुन र अन्तर्राष्ट्रिय प्रतिवद्धता अनुरुप आम नागरिकलाई मानव अधिकारको पूर्ण प्रत्याभूति दिलाई मुलुकमा भएको युगान्तकारी परिवर्तनको प्रत्यक्ष अनुभूति दिलाउनु आजको आवश्यकता र समयको माग हो ।

Categories

  • Current Affairs 850
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 71
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 319
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 269
Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 298
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 411
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA