विश्वसम्पदा सूचीमा सूचीकृत नेपालको सांस्कृतिक सम्पदा

विश्वसम्पदा सूचीमा सूचीकृत नेपालको सांस्कृतिक सम्पदा
क) काठमाडौं उपत्यका
नेपाल सन् १९७८ मा युनेस्कोको विश्वसम्पदा महासन्धिको पक्ष राष्ट्र बनेपछि, काठमाडौं उपत्यकामा रहेका अद्वितीय र अनुपम सांस्कृतिक सम्पदाहरूको विशिष्ट वैश्विक महत्व, मौलिकता र निरन्तरताको आधारमा यिनको संरक्षण र व्यवस्थापनका लागि नेपाल सरकारले युनेस्कोलाई अनुरोध गर्यो। त्यस अनुरोधअनुसार सन् १९७९ मा काठमाडौं उपत्यकालाई विश्वसम्पदा सूचीमा सूचीकृत गरिएको हो । यसरी काठमाडौं उपत्यकाका सातवटा क्षेत्रहरूलाई समेटेर एकीकृत रूपमा "काठमाडौं उपत्यका विश्वसम्पदा स्थल" को रूपमा सूचीकृत गरिएको हो। नेपाल सरकारले राष्ट्रिय दायित्व र उच्चस्तरीय संरक्षण सुनिश्चित गर्नका लागि “प्राचीन स्मारक संरक्षण ऐन, २०१३” को दफा ३ अनुसार यी सात क्षेत्रहरूको सीमा निर्धारण गरी क्रमशः स्वयम्भू (वि.सं. २०३६), हनुमानढोका, पाटन र भक्तपुर दरबार क्षेत्र, चागुनारायण मन्दिर र बौद्धनाथ (वि.सं. २०४१), पशुपतिनाथ (वि.सं. २०५५) लाई छुट्टाछुट्टै "संरक्षित स्मारक क्षेत्र" घोषणा गरिएको हो।
ख) लुम्बिनी — भगवान् बुद्धको जन्मस्थान
भगवान् बुद्धको जन्मस्थानका रूपमा विश्वप्रसिद्ध लुम्बिनीलाई युनेस्कोको विश्वसम्पदा सूचीमा सूचीकृत गर्न नेपाल सरकारले सन् १९९६ मा युनेस्कोको विश्वसम्पदा समितिमा औपचारिक अनुरोध पठाएको थियो। त्यस अनुरोधको आधारमा सन् १९९७ मा लुम्बिनीलाई विश्वसम्पदा सूचीमा समावेश गर्ने निर्णय गरिएको हो । लुम्बिनी क्षेत्रको मायादेवी मन्दिर, पवित्र उद्यान र वरपरका पुरातात्त्विक अवशेषहरू भगवान् बुद्धको जन्मसँग प्रत्यक्ष सम्बन्धित छन्। लुम्बिनी बौद्ध धर्म र दर्शनका प्रवर्तक बुद्धको जन्मस्थलका रूपमा विश्वभरका मानिसहरूको श्रद्धा, आस्था र अनुसन्धानको केन्द्र बनेको छ।