Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

पूर्व–मध्यकालीन तीन सभ्यता

  • Bikash Shrestha
  • September 29, 2025
  • 770

पूर्व–मध्यकालीन तीन सभ्यता

Pre-Medieval Three Civilizations

नेपालको सुदूर पश्चिम गण्डकी, कर्णाली प्रदेश तथा कुमाउँ–गढवाल (केदार खण्ड) क्षेत्रलाई विगतमा सवा लाख पर्वत र शिखरले भरिएको खस देश भनिन्थ्यो ।  पूर्व–मध्यकालमा जुम्लाको सिंहजामा नागराजले राज्य विस्तार गरेर सिंहजालाई शीतकालीन राजधानी र ताक्लाकोटलाई गृष्मकालीन राजधानी बनाए ।  इस्वी संको पाँचौं शताब्दीतिर भारतका साम्राज्यवादी गुप्त शासक चन्द्रगुप्त मौर्यले पावा, कुशीनगर जस्ता स–साना राज्यहरू आफ्नो अधीनमा लिएपछि त्यहाँका मल्लहरू नेपालतर्फ पलायन भई शिवालिक पहाडमा आएर बसोबास गर्न थाले। यसको प्रमाण बर्दियाको सैना मैनासहित लुम्बिनी, काँक्रे विहार, दानवताल लगायतका स्थानमा भेटिएका पुरातात्विक सामग्री र चाँगुनारायणको मानदेव (वि.सं. ५२१) को अभिलेखमा पाइन्छ । वि.सं. १२०७ तिर नागराजले स्थापना गरेको खस राज्य पश्चिममा गढवालदेखि पूर्वमा त्रिशूली गण्डकीसम्म, उत्तरमा ताक्लाकोटदेखि दक्षिणमा सुर्खेत–कपिलवस्तुसम्म फैलिएको थियो। यसको उल्लेख तिब्बती वंशावली, वि.सं. १४१४ को दुल्लु अभिलेख र गोपाल वंशावलीमा पाइन्छ । कर्णाली प्रदेशको खस मल्ल राज्यका शासकहरूमा नागराज, चापराज, चापिल्ल, क्राशिचल्ल, काधिचल्ल, क्राचल्ल, अशोक चल्ल, जितारी मल्ल, रिपु मल्ल, आदित्य मल्ल, कल्याण मल्ल, प्रताप मल्ल, पुष्प मल्ल, पृथ्वी मल्ल र अन्तिम राजा अभय मल्ल थिए। तर पन्ध्रौं शताब्दी प्रवेश गर्नु अघि नै खस राज्य पतन भई टुक्रियो र पछि यसलाई बाइसे–चौबीसे राज्य भनियो ।


नेपाल उपत्यका र मल्ल वंश

नेपाल उपत्यकामा व्यवस्थित शासन सुरु गर्ने मल्ल वंशका संस्थापक राजा जयस्थिति मल्ल मानिन्छन् । चन्द्रगुप्त मौर्यको आक्रमणले भारतबाट पलायन गरेका मल्लहरू सुरुमा गण्डकी, त्यसपछि कर्णाली हुँदै अन्ततः उपत्यकामा प्रवेश गरे र नेवार मल्लका रूपमा परिचित भए ।

एघारौं शताब्दीको अन्त्यसम्ममा नेपाल टुक्रिएर तीन राज्यमा परिणत भयो :

  1. पश्चिम कर्णाली प्रदेशमा – खस मल्ल राज्य

  2. दक्षिण–तराई क्षेत्रमा – कर्णाटवंशी सिम्रौनगढ राज्य

  3. उपत्यकामा – नेपाल मण्डल (पछि यक्ष मल्लको पालामा फेरि तीन भाग : भक्तपुर, कान्तिपुर, ललितपुर)

यसरी तीन सभ्यता र संस्कृति भएका तीन राज्य बने।


सिम्रौनगढ राज्य

वि.सं. ११५४–१३८१ सम्म मध्यतराईको भूभागमा सिम्रौनगढ राज्य थियो। यसको नाम "सिमरको वनमा बनेको गढ" (सिम्रवनगढ) बाट अपभ्रंश भई बनेको हो । सिम्रौनगढको संस्थापक दक्षिण भारतका चालुक्यवंशी राजा विक्रमादित्य छैठौंका सेनापति नान्यदेव थिए । उनी नेपालतर्फ आएर मिथिलामा स्वतंत्र राज्य स्थापना गरे । सिम्रौनगढ राज्यबारे प्रमाण चम्पारण र देवपारा अभिलेख, गोपाल वंशावली, केसर पुस्तकालयका वंशावली सामग्री र प्रताप मल्लको अभिलेखमा पाइन्छ । नान्यदेवले राजधानी चारैतिर बलियो पर्खाल, ११ वटा ठूला ढोका, २१ पानीका नहर र लहरै रुख लगाएर सुरक्षित बनाए। आज पनि त्यहाँ पर्खाल र पोखरीका अवशेष देख्न सकिन्छ। मुसलमान आक्रमणपछि विक्रमशिला र नालन्दा जस्ता भारतीय शैक्षिक स्थलका विद्वान्हरूले यहीँ शरण पाए । नान्यदेवपछि गंगादेव, नरसिंहदेव, रामसिंहदेव, शक्तिसिंहदेव, भूपालसिंह र अन्ततः हरिसिंहदेवले शासन गरे ।


हरिसिंहदेवको पतन र प्रभाव

वि.सं. १३८१ मा दिल्लीका तुगलक सुलतान गयासुद्धिन तुगलकले सिम्रौनगढ आक्रमण गरी राज्य ध्वस्त गरे । हरिसिंहदेव रानी देवलदेवी र छोरा जगतसिंहसहित उपत्यकातर्फ भागे तर सिन्धुलीको तीनपाटन पुग्दा हरिसिंहदेवको मृत्यु भयो । उपत्यकाका राजा रुद्रमल्लले देवलदेवीलाई शरण दिए। उनीसँगै ल्याइएको तलेजु भवानीको कलश भक्तपुर दरबारमा स्थापना गरियो। पछि मल्ल राजाहरू तलेजुका उपासक भए। देवलदेवीको छोरी नायकदेवीले जगतसिंहसँग विवाह गरी राजलक्ष्मीदेवी जन्माइन्। उनी पछि जयस्थिति मल्लसँग विवाह भई उपत्यकाको राजनैतिक तथा सांस्कृतिक जीवनमा ठूलो प्रभाव पारिन् । यसरी सिम्रौनगढका कर्णाटवंशीहरूको प्रभाव नेपाल उपत्यकाको राजनीति, कला र संस्कृतिमा गहिरो रूपमा परेको देखिन्छ ।


अन्तिम अवस्था

हरिसिंहदेवपछि तिरहुतमा तुगलकले राजसत्ता जमाए। वि.सं. १४११ पछि कामेश्वर ठाकुर र ओइनबार वंशले शासन चलाए तर वि.सं. १५८३ सम्ममा त्यो पनि अन्त्य भई मिथिला विभिन्न जमिनदारी क्षेत्रमा विभाजित भयो । पछि मुगल साम्राज्य कमजोर भएपछि चौबीसे राज्यका शक्तिशाली राजा पाल्पाका मुकुन्दसेन र उनका उत्तराधिकारीहरूले यो क्षेत्र आफ्नो अधीनमा ल्याए ।


निष्कर्ष

यसरी लिच्छविकालको विशाल नेपाल पूर्व–मध्यकालसम्म आइपुग्दा तीन टुक्रामा विभाजित भई तीन सभ्यता बने –

  1. पश्चिममा खस मल्ल राज्य

  2. दक्षिणमा कर्णाटवंशी सिम्रौनगढ

  3. उपत्यकामा नेपाल मण्डल

तर पृथ्वीनारायण शाहले पुनः एकीकरण गरेर लिच्छविकालको परिकल्पना जस्तै एकीकृत नेपालको पुनःस्थापना गरे।

Categories

  • Current Affairs 735
  • Gorkhapatra 331
  • Others 1134
  • Vacancy 1
  • Past Questions 118
  • Nepal Police 8

Latest Blogs

Yanki Ukyab appointed as Chief Executive Officer (CEO) of Investment Board
Current Affairs

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (CEO) मा याङ्की उक्याब नियुक्त

  • Aug 06, 2026
  • 44
Gandaki Province, Lab Technician, 5th Level - 2083/04/20
Past Questions

गण्डकी प्रदेश, ल्याब टेक्निसियन, ५औँ तह - २०८३/०४/२०

  • Aug 06, 2026
  • 62
Gandaki Province, Kaviraj Post, 2083/04/18
Past Questions

गण्डकी प्रदेश, कविराज पद, २०८३/०४/१८

  • Aug 06, 2026
  • 41
Common Rights of the Union and the States: Question and Answer (20 July 2083, Wednesday)
Gorkhapatra

सङ्घ र प्रदेशका साझा अधिकार : विषयगत प्रश्नोत्तर (२० साउन २०८३, बुधबार)

  • Aug 05, 2026
  • 52
Public Service Preparation Special: Objective Questions and Answers (20 Shrawan 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष: वस्तुगत प्रश्नोत्तर (२० साउन २०८३, बुधबार)

  • Aug 05, 2026
  • 82
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA